सिक्टा सिँचाइ आयोजनाको प्रगति ५० प्रतिशत

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाले सुरुवातदेखिका आरोह–अवरोह पार गर्दै हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरेको छ। सन् २०६२ सालमा सुरु गरिएको यो आयोजना अहिले पश्चिम मूल नहर र पूर्व मूल नहरका ठूला संरचनाहरू निर्माण गरी शाखा तथा प्रशाखा नहर विस्तारको क्रममा छ ।
आयोजना निर्देशक राजु आचार्यका अनुसार हाल पश्चिम मूल नहरको ४५ किलोमिटर निर्माण पूरा भइसकेको छ भने पूर्व मूल नहरको ५३ मध्ये ३७ किलोमिटर नहर तयार भइसकेको छ। बाँकी नहर र शाखा प्रशाखा निर्माण कार्य तीव्र गतिमा अघि बढाइँदै छ ।
किसानमा आशा र उत्साह
आकासे पानीको भरमा खेती गर्ने बाँकेका किसान अहिले सिक्टाको नहरबाट पानी पाई तीन बाली लगाउन सक्षम भएका छन् । राप्तीसोनारी–४ का किसान राम सरुक थारु भन्छन्, “पहिला आकाशे पानीको भल छोपेर खेती गर्थ्यौँ, अहिले नहरकै पानीले खेती गर्न सजिलो भएको छ। शाखा नहर बनेर खेतमा पानी आइपुग्दा त अमृत पाएको जस्तै भएको छ ।”
राप्तीसोनारी–७ निबुवाटारका किसान अमर घर्तिमगर पनि उत्साहित छन्। उनका अनुसार, “नहर पूर्ण रूपमा बनेको छैन तर अहिले नै जीवनशैली परिवर्तन हुँदैछ। अब खेतमा सुन फलाउने समय टाढा छैन।” किसानको उत्पादन र आम्दानी दुवै बढ्दै गएको अनुभव पनि उनीहरूले बाँडेका छन्। “पहिला खान नपुग्ने जमिनबाट अहिले बेच्ने अन्न उत्पादन हुन्छ,” उनीहरू भन्छन्।

महिला किसान पनि उत्साहित
राप्तीसोनारी–५ की रिमा थारु भन्छिन्, “अब आकासे पानीको भर पर्नु पर्दैन, समयमै नहरको पानी तानेर खेती गर्न सक्छौँ।”
डुडुवा प्रणाली पुनःसञ्चालन
आयोजना निर्देशक आचार्यका अनुसार, लामो कानुनी विवादपछि पश्चिमतर्फको डुडुवा सिँचाइ प्रणालीको निर्माण पुनः सुरु गरिएको छ । यो प्रणाली सञ्चालनमा आएपछि नेपालगञ्ज, डुडुवा र जानकी गाउँपालिकाको करिब १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ ।
२०७३ सालमा ठेक्का सम्झौता भए पनि काम नगरेका ठेकेदारको ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गरिएको उनले बताए। आचार्यले भने,“वर्षौँदेखि रोकिएको काम पुनः सुरु भएपछि स्थानीय किसान उत्साहित छन् ।,”
भविष्यका महत्त्वाकाङ्क्षी योजना
आयोजनाले आगामी वर्षभित्र पूर्वी नहरको बाँकी काम, शाखा प्रशाखा विस्तार र मर्मत सम्भारका काम तीव्र रूपमा अघि बढाउने तयारी गरेको छ ।
अर्थ मन्त्रालयबाट स्रोत सहमति पाएपछि करिब ५ अर्ब रुपैयाँ बराबरको थप निर्माण योजना अघि बढाइने आचार्यले बताए । उनका अनुसार, नयाँ योजनामा पाँचौँ, छैटौँ र सातौं नम्बरका शाखा नहर विस्तारसँगै पुराना संरचनाको पुनःनिर्माण पनि समावेश छ ।
बाँकेमा आत्मनिर्भर कृषि सम्भावना
करिब ४३ हजार हेक्टर कृषि योग्य जमिनमा सिँचाइ पुर्याउने लक्ष्यसहित निर्माणाधीन सिक्टा सिँचाइ आयोजना सम्पन्न भए बाँके कृषि उत्पादनमा आत्मनिर्भर जिल्ला बन्ने विश्वास गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्