तपाईँ सुन्दै हुनुहुन्छः

छठ अन्तर्गत आज खरना विधि गरिदै

जनकपुरधाम । विशेष नियम निष्ठा तथा श्रद्धा भक्ति पूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आज खरना विधि मनाईदैछ ।

कार्तिक शुक्लपक्ष चतुर्थी तिथिबाट नहा खा गरेर हिजो देखि शुरु भएको छठका व्रतीले आज बिहान स्नान गरेर शुद्ध बस्त्र धारण गरि दिनभरि उपवास बसेर साँझको समयमा आफैले तयार पारेको गुणको खीर, पुरी, केरा सहितका मिष्टान्नहरू साँझ छठी मैयाँलाई अर्पण गरी प्रसादको रुपमा सबैलाई वितरण गरेपश्चात व्रतालुले पनि नुनरहित प्रसाद खाने गर्दछन् ।

जसलाई स्थानीय भाषामा खरना विधि भनिन्छ । व्रतीले आज राति खाएपछि भोली दिन रात र पर्सी सप्तमी तिथिका दिन बिहान ९ बजेपछि व्रतीहरू घाटबाट फर्किएपछि खाना खाने चलन रहेको छ । जसलाई स्थानीय भाषामा खरना विधि भनिन्छ ।

चार दिनसम्म नियम निष्ठा सहित मनाइने छठ पर्व नहुनेलाई हुनेले बोलाएर पूजामा सहभागी गराउनुका साथै प्रसाद खुवाउने चलन रहेको छ । उता सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि पर्वको समापन भएपछि प्रसादको रुपमा घाट देखि नै वितरण गर्ने चलन रहेको छ ।

सन्तानको प्राप्ति, पुत्रको दीर्घ जीवन, समृद्धिको कामना सहित वर्षको दुई पटक सूर्यको उपासनाका महापर्व छठ पर्व मनाउने चलन रहेको छ । गृष्मकालमा मनाइने छठ भन्दा शरद ऋतुमा मनाइने छठमा व्रतीको सङ्ख्या व्यापक हुने गरेको छ ।

मानव सहित सम्पूर्ण चराचर जीवजन्तु तथा वनस्पतिलाई प्रत्यक्ष लाभ दिने सूर्यको दुवै रूपको यसमा पूजा गर्ने चलन रहेको छ । अस्ताउँदो र उदाउँदो स्वरूपको पूजा छठमा गर्ने चलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button