तपाईँ सुन्दै हुनुहुन्छः

झापाका बाढीपीडितहरूलाई राहत वितरण

झापा । झापाको झापा गाउँपालिकाका बाढीपीडितहरूलाई ‘एकका लागि एक अभियान’को समन्वयमा अन्तर्राष्ट्रिय झापाली समाजले राहत वितरण गरेको छ ।

अभियानले गरेको राहत आव्हानपछि समाजले ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । सो सहयोगबाट झापा गाउँपालिकाका मुख्य प्रभावित क्षेत्र सुगाबथान, सेतुमारीलगायतका बाढीपीडितहरूलाई करुणा र सहानुभूतिपूर्वक राहत सामग्री हस्तान्तरण गरिएको हो ।

बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै पीडितहरूलाई प्रत्यक्ष रूपमा ‘सेवाको भावना, मानवीय जिम्मेवारी र एकताको सन्देश’सहित अभियानका संयोजक महेन्द्रकुमार गिरी, अभियन्ता एकराज गिरी, अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष दिनेश पोखरेल, वर्तमान महासचिव चिरन खवास लगायतले राहत वितरण गर्नुभयो ।

राहत वितरण कार्य जिल्ला विपद् व्यवस्थापन समितिको एक द्वार प्रणाली अन्तर्गत प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको समन्वयमा सम्पन्न गरिएको संयोजक गिरीले बताउनुभयो ।

‘एकका लागि एक अभियान’सँग हाल प्रत्यक्ष ६० सङ्घ–संस्था जोडिएका छन् । जिल्लामा हुने विपद्का क्षणहरूमा सहयोग र सहानुभूतिको पुल बन्ने उद्देश्यले अभियान सक्रिय रहँदै आएको छ । करुणा र सेवा भावमा आधारित यो अभियानमार्फत सयौँ व्यक्ति स्वैच्छिक रूपमा जोडिँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button