तपाईँ सुन्दै हुनुहुन्छः

सम्भावित प्राकृतिक विपद्प्रति सचेत रहन ताप्लेजुङ प्रशासनकाे आग्रह

ताप्लेजुङका ६१ वडामध्ये ४४ वडा बाढी पहिरोको उच्च जोखिममा

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्लावासीलाई भारी वर्षा तथा सम्भावित प्राकृतिक विपद्प्रति सचेत रहन अपिल गरेको छ । 

जल तथा मौसम विज्ञान विभागले ताप्लेजुङ पनि भारी वर्षको सम्भावित जिल्ला भएको बुलेटी प्रकाशित गरेसँगै ताप्लेजुङ प्रशासनले उच्च सतर्कता अपनाउन र पूर्व तयारी तथा पूर्व कार्यका लागि सबैसँग अपिल गरेको हो  । 

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइले एक सूचना जारी गर्नुहुँदै आजदेखि २० गतेसम्म देशको अन्य जिल्लासहित ताप्लेजुङमा पनि भारी वर्षा हुने सम्भावना रहेको भन्दै जिल्लामा जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन आग्रह गर्नुभयो । 

प्रशासनले अत्यावश्यक नपरी घर बाहिर ननिस्कन, पहिरो तथा डुबानको सम्भावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानको जानकारी राख्न र आवश्यक परेमा सर्ने तयारी गर्न आग्रह गरेको छ । 

त्यस्तै, सडक अवरुद्ध भएमा तत्काल खटाउन मिल्ने गरी डोजर, लोडर जस्ता उपकरण तयारी अवस्थामा राख्न र साझेदार संस्थाहरूलाई विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही अलर्टमा रहन पनि प्रशासनले अनुरोध गरेको  छ । यता कञ्चनजङ्घा क्षेत्र लगायत उच्च हिमाली क्षेत्रको भ्रमण गर्ने पर्यटकहरूलाई जोखिम बारे सतर्क गराइएको पनि प्रशासनले जनाएको छ । 

कुनै पनि विपद् सम्बन्धी सूचना वा आपत्कालीन अवस्था आएमा जिल्लाका सुरक्षा निकायहरू, गाउँपालिकाहरू, रेडक्रस तथा विभिन्न संघसंस्थाहरुलाई  जानकारी गराउन प्रशासनले  आग्रह गरेको छ  । 

ताप्लेजुङका ६१ वडामध्ये ४४ वडा बाढी पहिरोको उच्च जोखिममा
यता ताप्लेजुङको ६१ वडा मध्ये ४४ वडा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । 

जिल्लाको एक नगरपालिकासहित नौ गाउँपालिका मध्ये तीन पालिकाको सबै वडा बाढी पहिरोको उच्च जोखिममा रहेका हुन । 

जिल्लाको सिरिजंघा गाउँपालिकाको सबै ८ वडा, सिदिङ्वा गाउँपालिकाको सबै ७ वडा र पाथीभरा याङबरका गाउँपालिकाको सबै ६ वडा बाढी पहिरोको उच्च जोखिममा रहेको छ । तीन पालिकाको मात्र २१ वडा रहेका छन् ।  

जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको विपद् प्रभावित क्षेत्रको पहिचान गर्दै बाढी पहिरोको उच्च र मध्यम जोखिम क्षेत्रका पहिचान गरी सतर्क र सुरक्षित रहनका लागि पूर्व तयारी गर्नुपर्ने समितिले निष्कर्ष निकालेको थियो । बाढी पहिरोको उच्च जोखिममा फक्ताङ्लुङ गाउँपालिकाकाको सात मध्ये चार वटा वडा उच्च जोखिममा छन् । मेरिङ्देन गाउँपालिकाको छ वटा वडामध्ये चार वटा वडा, मैवाखोला गाउँपालिकाको छ वटा वडामध्ये वडा नम्बर ४ साँघु उच्च जोखिममा रहेको छ ।

जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाका पाँचमध्ये वडा मध्ये ३ वडा र जिल्लाको एक मात्र फुङलिङ नगरपालिकाका ११ मध्ये छ वटा वडा बाढी पहिरोको उच्च जोखिममा छन् । जिल्लाको १५ वटा वडा मध्यम जोखिमका रहेका छन् भने फुङलिङको दुई वडा २ र ५ मात्र न्यून जोखिममा रहेको जिल्ला प्रशासनको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

भिरालो भू–बनावट रहेको जिल्लामा सडक निर्माण, जलविद्युत आयोजना निर्माण, रुख फँडानी लगायतका कारणबाट बाढी पहिरोको जोखिम बढेको स्थानीयहरूले बताउने गरेका छन् । बाढी पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा सम्बन्धित स्थानीय तहले जोखिम नियन्त्रण र न्यूनीकरण गर्न तटबन्ध निर्माणसहित बस्ती व्यवस्थापन लगायतका कार्य भने गर्दै आएको स्थानीय तहहरूले जनाउने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button