जुम्लामा कोदो खेती गर्ने किसान घट्दै
जुम्ला । यहाँ पछिल्लो समय कोदो खेतीप्रति किसानको आकर्षण घटेको छ । बजारमा कोदोको पिठोको माग उच्च भए पनि खेती गर्नेको सङ्ख्या बिस्तारै घट्ने क्रममा रहेको तिला गाउँपालिका–१ का स्थानीय पदम बुढाले जानकारी दिनुभयो ।
कोदोको उत्पादन वृद्धि, खेती विस्तार तथा उपभोगलाई बढाउने लक्ष्यसहित यहाँका स्थानीय तहको ध्यान जान सकेको छैन । लोपोन्मुख बनेको कोदो खेतीलाई प्रवर्द्धन गर्न सम्बन्धित निकायको कुनै चासो नगएको बुढाको भनाइ छ । यहाँका गाउँघरमा कोदो खेतीतर्फ किसानको आकर्षण बढेको छैन । तरकारी र नगदे बालीमा किसानले महत्व दिएर खेती गरिरहेका छन् ।
कोदो खेतीमा किसान आकर्षित हुन सकेका छैनन् । विशेष गरी यहाँको तिला, हिमा, सिञ्जा, पातारासी र तातोपानी गाउँपालिकाका किसानले कोदोखेती गर्न थालेका छन् । स्वास्थ्यका दृष्टिले लाभदायी मात्र नभइ राम्रो मूल्य पाइने भएकाले किसान यसतर्फ आकर्षित हुन नसक्नु यो राम्रो पक्ष होइन जुम्ला सदरमुकाम खलङ्गा बजार जैविक पसल सञ्चालनमा ल्याएका स्थानीय व्यापारी अर्जुन बुढाले बताउनुभयो ।
अहिले कोदोको पिठो प्रतिकिलो रु दुई २०० ले बिक्री हुने गरेको छ । कोदोको पिठो विशेषगरी आन्तरिक पर्यटकको रोजाइमा पर्न गएको छ । बजारमा अत्यधिक माग हुने गरेको स्थानीय व्यापारी बुढाको भनाइ छ । जिल्लामा उत्पादित रैथाने बाली पछिल्ला वर्षमा लोप हुँदै गएकाप्रति यहाँका किसानले चिन्ता गरेका छन् ।
खेतीयोग्य जमिनमा रैथाने बाली हराउन थालेको छ । अहिले कृषि पेसामा युवा जनशक्तिको आकर्षण छैन । परम्परागत रूपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथाने बाली लगाउँदै आएका छन् । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन ।








प्रतिक्रिया राख्नुहोस्