तपाईँ सुन्दै हुनुहुन्छः

दुई समूहबिच ग्याङ फाइट,एक युवकको मृत्यु 

वीरगञ्ज । वीरगन्जमा आयोजित दसैँ मेलामा गए राति दुई समूहबिच भएको ग्याङ फाइटमा एक युवकको मृत्यु भएको छ ।  

जिल्ला प्रहरी कार्यालय पर्साले  मेलामा पसल राख्ने विषयलाई लिएर भएको विवादका कारण झगडा चर्किँदा २० वर्षीय गोल्डेन नाम गरेका (सनाखत हुन बाँकी) युवकको मृत्यु भएको जनाएको छ ।

प्रहरी प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतका अनुसार दसैँ मेला भइरहेको बेला राति करिब १२ देखि १ बजेको बीचमा माईस्थान र घडिअर्वा पोखरी क्षेत्रका युवाबीच गितामन्दिर रोडमा चक्कु हानाहान भएको थियो ।

गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै दुई समूहबिच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सोही विवाद राति हिंसात्मक रूप लिँदा गोल्डेनमाथि आक्रमण भएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइए पनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धान जारी रहेकाले उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता बस्नेतले नियन्त्रणमा लिइएकाहरूसँग सोधपुछ भइरहेको र घटनाबारे थप विवरण सङ्कलन गर्न सूक्ष्म अनुसन्धान सुरु गरिएको बताउनुभयो । 

मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button