तपाईँ सुन्दै हुनुहुन्छः

सीमा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका १५३८ जनाको उद्धार

नेपालगन्ज । बाँकेमा एक वर्षको अवधिमा जोखिमपूर्ण यात्रामा रहेका १५३८ जनालाई सीमा नाकाबाट उद्धार गरिएको छ । तीमध्ये बाँके जिल्लाका मात्रै ३३५ जना छन् । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९औँ राष्ट्रिय दिवसको अवसरमा आज नेपालगन्जमा आयोजित ‘मानव बेचबिखनविरुद्ध अन्तरक्रिया कार्यक्रम’ मा मानव बेचबिखन र ओसारपसार विरुद्ध क्रियाशील विभिन्न सङ्घ संस्थाको एकीकृत तथ्याङ्क प्रस्तुत गरिएको हो । 

तथ्याङ्क प्रस्तुत गर्दै माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले आर्थिक वर्ष २०८१/८२ मा कोहलपुरका ८० जना, बैजनाथ ६८, नेपालगन्ज ५६, खजुरा ४७, राप्तीसोनारी ४५, जानकी २०, नरैनापुर १० र डुडुवाका ९ जनालाई सीमा नाकाबाट उद्धार गरिएको छ । यस्तै यो अवधिमा खोजतलास तथा उद्धारका लागि निवेदन परेको सङ्ख्या ८३३ रहेकोमा ४३७ जना फेला परेका छन् । त्यसमा बाँके जिल्लाका मात्रै ११९ रहेकोमा ११४ जना फेला परिसकेका छन् । कोइरालाले मानव बेचबिखनको प्रवृत्ति, चुनौती र नियन्त्रणका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ५५५ जनाले कार्यालयमा खोजतलास तथा उद्धारका लागि निवेदन दिएका थिए । ती मध्ये ५४८ फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा मानव बेचबिखनका १२ मुद्दा दर्ता भएकोमा बाँकेका मात्र ७ वटा छन् । सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका वरिष्ठ महिला विकास अधिकृत पवित्रा कुमारी पुरी, नरैनापुरकी महिला विकास अधिकृत कृष्णा कुमारी चन्द, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, शक्ति समूहकी निर्मला पौडेल, दमयन्ती फाउन्डेसनकी इन्दु जिसी रावल, अभियान नेपालकी कमला पन्त लगायतले मानव बेचबिखनविरुद्ध सबै सरोकारवाला निकाय एकीकृत ढङ्गले गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभएको थियो । नेपालगन्ज सहरभित्र पनि पछिल्लो समय बग्रेल्ती खुलेका वयस्क मनोरञ्जन केन्द्रहरूमा निगरानी बढाउनुपर्ने आवश्यकता देखिएको भन्दै सरोकारवाला प्रतिबद्ध भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले दिवसको अवसरमा गरिएको अन्तरक्रिया जीवन्त भएको भन्दै अब कार्यान्वयन तहमा प्रभावकारी ढङ्गले अघि बढ्न सबै एकीकृत ढङ्गले लाग्नुपर्ने बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति बाँकेको आयोजना तथा माइती नेपाल, साथी एवम् शक्ति समूहको सहयोग र समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णु साहनीले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button