तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी–मोरङ सिँचाइ आयोजनाका संरचना जीर्ण बन्न थालेपछि समस्या 

विराटनगर । नेपालकै ठुलो र पुरानो आयोजनाको रुपमा रहेको सुनसरी–मोरङ सिँचाई आयोजनाका संरचनाहरू जीर्ण बन्न थालेका छन् ।

५५ वर्षअघि निमार्ण भएका नहरका संरचना लामो समयदेखि पुनर्निर्माण नहुँदा सिँचाइका लागि बनाइएको संरचना जीर्ण बन्न थालेका हुन । उक्त संरचना पुनर्निर्माण गर्दै नजाने हो भने आगामी दिनमा नहरबाट हुने सिँचाई पूर्ण रुपमा प्रभावित हुने देखिन्छ ।

मोरङमा २८ हजार तथा सुनसरी जिल्लामा ४० हजार गरि  ६८ हजार हेक्टर जग्गामा आयोजनाले किसानको खेतबारीमा सिँचाई  पुर्‍याउँदै आएको छ । 

५३ किलोमिटर मुल नहर ४ सय किलोमिटर शाखा नहर , प्रशाखा नहर तथा कुलो कुलेसो गरी आयोजनाको कुल नहरको लम्बाई १ हजार ५ सय किलोमिटर भन्दा बढी  छ ।  आयोजनामा  एक हजारभन्दा बढी संरचना रहेका छन् । त्यसमध्ये धेरै संरचना जीर्ण भई भत्किने अवस्थामा पुगेका छन् । 

सन १९७० मा भारत सरकारले निमार्ण गरेको सो आयोजना पाँच वर्ष परीक्षणको रुपमा सञ्चालनपछि सन १९७५ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । त्यो बेलाको प्रविधि अनुसार सबै संरचना इँटाको प्रयोग गरेर बनाइएको छ  । पानी मुनी इँटाको आयु ५० वर्ष मात्र हुन्छ । 

आगामी भविष्यसम्म सञ्चालनका लागि आयोजनाको  बृहत् निमार्ण र सुधार आवश्यक रहेको सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरका सिनियर डिभिजन इन्जिनियर तेज रिजालको भनाई छ  । 

आवश्यकता अनुसार संरचना निर्माण नगर्दै जाने हो भने आउँदो हिउँद महिनामा पानी सञ्चालनमा निकै कठिनाइ आउने उहाँले बताउनुभयो 

सुनसरीको चतरास्थित कोशी नदीमा आयोजनाको मुल नहरको मुहान जोडिएको छ । मुल नहरको ६० क्युमेक पानी सञ्चालन गर्ने क्षमता रहे पनि यो गतवर्षको हिउँद महिनामा नहरमा ५ क्युमेक मात्र सञ्चालनमा आएको थियो । कोशी नदीको बहाव पश्चिम मोडिएर बग्न थालेपछि इन्टेकमा आवश्यक पानी पुग्न नसक्दा हिउँदमा जसोतसो गरेर पाँच क्युमेक पानी सञ्चालन गर्न सकिएको इन्जिनियर रिजालले बताउनुभयो  ।

“चतरास्थित कोशी नदीमा पुल निर्माण हुँदा पानीको सतह पूर्वतिर भएको इन्टेकको लेबलभन्दा माथि थियो ।”, इन्जिनियर रिजालले भन्नुभयो, “पुल निमार्णका क्रममा त्यहाँ बनेको ड्यामले गर्दा पूर्वतर्फ बहेको पानीको बहाव पश्चिम जान थालेको हो  ।”

६८ हजार हेक्टरमा सहज रुपमाले सिँचाई पुर्‍याउन नहरमा ६० क्युमेक पानी आवश्यक पर्छ । हिउँदमा ४० क्युमेक पानी आवश्यक हुन्छ तर कोशीको पानीको सतह घट्दै जाँदा इन्टेकको लेवल माथी पुगेकाले मुल नहरको मुखमा पानी पुग्न सकिरहेको छैन । 

कोशी नदीको पानीको बहाव इन्टेकतर्फ फर्काउन आयोजनाले हर सम्भव प्रयास गर्दै आएको छ ।  सो क्षेत्रमा पाँच वटा स्पर तथा विभिन्न संरचना समेत निमार्ण गरेको छ । त्यसो गर्दा पनि आवश्यक  पानी मुल नहरमा पुर्‍याउन समस्या भएकाले अव सो ठाउँमा ब्यारेज बनाउनुको विकल्प नभएको रिजालको भनाई छ । 

उपलब्ध बजेट अनुसार आवश्यक र जोखिमपूर्ण स्थानमा  आयोजनाले काम भने गरिरहेको छ ।  जोखिमपूर्ण स्थानका पहिचान गरेर विभिन्न शाखामा तथा नहरका संरचनालाई  व्यवस्थित बनाउने काम भइरहेको छ । पुराना र जीर्ण भएका कतिपय संरचना वर्षायाममा भत्किने र बिग्रने गरेकाले त्यसलाई टालटुल गरेर नहरमा पानी सञ्चालन गरिरहेको आयोजनाले जनाएको छ ।

आयोजनाबाट सुनसरी तथा मोरङ जिल्लाका ६ लाखभन्दा बढी  किसान लाभान्वित छन् । आयोजनाका कारण  किसानले  वर्षमा तीन बाली लगाएर उत्पादन गर्दै आएका छन् । यसरी मोरङ र सुनसरीका किसानको भाग्य र भविष्यसँग जोडिएको आयोजना पुनर्निर्माण र व्यवस्थित गर्न समयमै ध्यान जानुपर्ने किसानहरूको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button