अबिरल वर्षाका कारण गमगढी–बालै–पिना सडक पूर्ण अवरुद्ध, पैदल हिँड्नसमेत समस्या

मुगु । अबिरल वर्षासँगै आएको पहिरोले गमगढी–बालै–पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेर करिब दुई महिनादेखि सडक अवरुद्ध भएकाे हाे ।
सडकका विभिन्न भागमा माटो र ढुंगा थुप्रिएका छन् भने सडक भाँसिएर तहसनहस बनेपछि सवारीसाधन सञ्चालन असम्भव भएको छ। पैदल हिँड्नसमेत कठिनाई भएको स्थानीयहरुले बताएका छन्।

गाउँ जाने र बाहिर आउने बाटो बन्द हुँदा स्थानीय बासिन्दा वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका छन्। बिरामी बोकेर अस्पताल लैजानुपर्ने परिवारहरू चिन्तित छन् भने खाद्यान्न र औषधी आपूर्तिमा समेत समस्या देखिएका छन्। विशेषगरी नगरपालिका नजिक पर्ने लेतेखोला र कालाढुङ्गा सडक खण्डमा सडक बगेर गहिरो गल्छी बनेको छ।
स्थानीयवासी दान बहादुर शाहीका अनुसार, “जताततै पहिरो गएको छ, दलदल र माटोले बाटो भरिएको छ, हिँड्नसमेत समस्या छ।”
सडक अवरुद्ध भए पनि यसलाई खुलाउने तर्फ कसैको ध्यान नपुगेको स्थानीय बासिन्दाहरूले बताएका छन्।
गमगढीस्थित नगरपालिका अनुसार स्थिति जटिल भए पनि मर्मतका लागि डोजरसहित प्राविधिक टोली तयारी अवस्थामा राखिएको छ। निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउने काम गर्न कठिन भइरहेको छ। वर्षा कम भएपछि मात्रै सडक खुलाउने प्रयास गरिने कार्यबाहक नगरप्रमुख ऐश्वर्या मल्लले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्