तातोपानी नाका पुग्ने सडक सधैँ अवरुद्ध
सिन्धुपाल्चोक । बर्खामा याम मात्र होइन, नेपाल र चीनबिचको उत्तरी तातोपानी नाका पुग्ने मार्ग हिउँद याममा पनि उत्तिकै सकस र जोखिमपूर्ण हुँदै आएको छ । राजश्व सङ्कलनमार्फत मूलकै अर्थतन्त्रमा टेवा पुर्याउँदै आएको तातोपानी नाकासम्मको सडक स्तरोन्नति हुन नसक्दा यात्रुले सधैँ मार खेप्दै आउनु परेको हो ।

हिउँदमा धुलाम्मे कच्ची सडक र सुख्खा पहिरोकोका कारण जोखिममा रहेको तातोपानी नाका बर्खामा भने सधैँ बाढी र पहिरोको चपेटामा पर्दै आएको छ । यस वर्ष पनि मनसुन सुरु भएयता नाकासम्म पुग्ने बाटोको कन्तबिजोग भएको छ ।
बाह्रबिसेदेखि लिपिङसम्मको २६ किलोमिटर सडक प्राकृतिक विपत्तिका कारण सधैँ अवरुद्ध हुँदै आएको हो । सडक अवरुद्ध भएकै कारण आन्तरिक र बाह्य पर्यटक मात्र होइन तातोपानी नाकालाई ट्रान्जिट बनाएर चीनसँगको व्यापार व्यवसाय गर्दै आएकाहरू पनि मारमा पर्दै आएका छन् । अहिले पनि झन्डै ६ सय मालवाहक कन्टेनर नेपाल भित्रिन सकेको छैन । नेपालतर्फको सडक भोटेकोसी बाढी र पहिरोको कारण अवरुद्ध भएपछि चाडपर्व लक्षित सामग्री चीनको विभिन्न भूभाग अलपत्र रहेको व्यापारीहरूको भनाइछ । बाटोको अवस्था र समस्याबारे सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले तातोपानी नाकासम्मको सडकलाई प्राथमिकतामा राख्न नसकेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटाको गुनासो छ ।

त्यसो त नाकासम्म पुग्ने सडक सुधार लागि सरकारले प्रयास नै नगरेको भने होइन । वर्सेनी सडक डिभिजन कार्यालय चरिकोटले सुधारका लागि करोडौँ लगानी गर्दै आएको छ तर मनसुन सुरु भएसँगै आएको बाढी पहिरोले सुधार गरिएका ती संरचनाहरू सधैँ ध्वस्त हुने गरेको छ ।
अहिले पनि झन्डै एक सातादेखि यो नाका अवरुद्ध हुँदै आएको छ । बाह्रबिसेदेखि कोदारी लिपिङसम्म अधिकांश सडक जीर्ण हुनका साथै ठाउँ ठाउँमा भासिएको छ । माथिबाट पहिरो खस्ने र तलबाट भोटेकोसी नदीले सडक कटान गरेपछि सडक सुचारु हुन सकेको छैन ।

गत असार २४ गते भोटेकोसीमा आएको बाढीका कारण केरुङ नाका बन्द भएपछि तातोपानी नाकाबाट व्यापार सहज हुने अपेक्षा गरे पनि पटक पटक सडक अवरुद्ध हुन थालेपछि व्यापारीहरू हैरान भएका छन् । यसै नाका भएर तिब्बतस्थित कैलाश मानसरोवर जाने पर्यटकहरू जङ्गलको बाटो हुँदै पहिरो छिचोल्दै जोखिम मोलेरै भए पनि मानसरोवर जान बाध्य छन् ।







प्रतिक्रिया राख्नुहोस्