मसोट खोलामा डाइभर्सनमार्फत सवारी सञ्चालन सुरु

दाङ । लमही–घोराही सडक खण्डअन्तर्गत मसोट खोलामा डाइभर्सन निर्माण गरी सवारीसाधन सञ्चालनमा ल्याइएको छ।
मसोट पुलमा जोखिम बढेपछि आकस्मिक मर्मतको आवश्यकता देखिँदा साउन २१ गतेदेखि चार दिनसम्म सवारी आवागमन बन्द गरिएको थियो।
सवारी सञ्चालनमा ल्याउन पुलको उत्तरतर्फ खोलामा खाल्डा पुरी वैकल्पिक बाटो तयार गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेले जानकारी दिनुभयो। तर डाइभर्सन निर्माण गरिएको क्षेत्रमा पानी परेमा समस्या आउन सक्ने उहाँले बताउनुभयो। खोलाको सतह बढे डाइभर्सन बगाउने सम्भावना रहेकाले पुनः सवारी अवरुद्ध हुनसक्ने चिन्ता व्यक्त गरिएको छ।
सडक डिभिजन कार्यालय दाङको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठक गरी साउन २१ देखि २४ गतेसम्म पुल मर्मतका लागि सडक बन्द गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया राख्नुहोस्