उदयपुरमा औषधि पसलहरूको अनुगमन, एक मेडिकल हलमा प्रशासनको ताला
उदयपुर। जिल्ला प्रशासन कार्यालय उदयपुरले औषधी पसल तथा मेडिकलहलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालित एक मेडिकल हलमा भने ताला लगाइएको छ ।

सोमबार उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयको नेतृत्वमा रहेको अनुगमन टोलीले जिल्लाको चौदण्डीगढी नगरपालिका भित्रका औषधी पसल तथा मेडिकलहरूमा अनुगमन गरेको हो । अनुगमन टोलीले स्थानीय पाथिभरा डेन्टल क्लिनिक, शुभम डेन्टल प्रा.ली., दिव्यान्स फार्मेसीलाई जरिवाना गरेको थियो । उनीहरूलाई दर्ता प्रमाणपत्र नभएको भन्दै अनुगमन टोलीले जरिवाना गरेको हो । अनुगमन टोलीले चौदण्डीगढी नगरपालिका ४ बसाहामा महेन्द्र मण्डल द्वारा सञ्चालित बीज मेडिकल हलमा भने ताला लगाएको छ । अवैधानिक रूपमा मापदण्ड विपरीत सञ्चालन गरेको बीज मेडिकल हलमा ताला लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिनुभयो ।
अनुगमन सहायक प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित स्वास्थ्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय गाईघाट र स्थानीय पालिकाको टोलीले संयुक्त रूपमा अनुगमन गरेको हो ।

उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयका अनुसार अनुगमन टोलीले चौदण्डीगढी नगरपालिकाको बेल्टार बजार, बसाहा लगायतका क्षेत्रमा सञ्चालित मेडिकल हलमा छड्के अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा पाइएका म्याद समाप्त भएका औषधीहरू अनुगमन टोलीले जफत गरेको छ । उदयपुरमा सञ्चालित धेरै मेडिकल मापदण्ड विपरीत सञ्चालन रहेको गुनासो आउन थालेपछि जिल्ला प्रशासनको नेतृत्वमा मेडिकल हल अनुगमन थालिएको हो । उहाँले जिल्ला भित्रका सबै मेडिकलहरूमा अनुगमन गरिने समेत बताउनु भयो ।

अनुगमन टोलीले मापदण्ड विपरीत सञ्चालित धेरै मेडिकल हललाई तत्काल मापदण्ड अनुसार सञ्चालन गर्न सुझाव समेत दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्