मधेस प्रदेशमा तत्काल राहत र अनुदानको कार्यक्रम घोषणा गर्न सांसदहरूको माग
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको मधेस प्रदेशमा तत्काल राहत र अनुदानको कार्यक्रम घोषणा गर्न माग गर्नुभएको छ ।

सांसदहरूले जलवायु परिवर्तनको प्रभावले जनजीवनमा नकारात्मक प्रभाव परिरहेको, तराई मधेशका नागरिक खानेपानी र सिँचाइको अभावले मारमा परिरहेको भन्दै किसानलाई पम्पसेट र डिप बोरिङ्गहरु सञ्चालन गर्न दिएर त्यसबापत लाग्ने विद्युतीय महशुल मिनाहा गर्न माग गर्नुभयो ।
सांसदहरूले चुरे संरक्षण, वन फडाँनी नियन्त्रण र वृक्षारोपणसँगै मधेसलाई मरुभूमि करण हुनबाट बचाउन तथा पानीको मुहान संरक्षण गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।
सांसदहरूले हुलाकी मार्ग र पूर्व पश्चिम मार्गको बिचमा रहेका बस्तीहरूमा खानेपानीको हाहाकार रहेको भन्दै तत्काल खानेपानीको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसदहरूले किसानले मल पाउन नसकेको, उखु किसानका समस्याहरू समाधान हुन नसकेको, दुग्ध किसानले उचित मूल्य पाउन नसकिरहेको, कृषि बिमा प्रभावकारी नभएको, सरकारले उपलब्ध गराउने अनुदान वास्तविक किसानले पाउन नसकिरहेको बताउनुभयो ।
सांसदहरूले देशमा कृषि लगाउने समयमा सधैँ मलको अभाव हुने गरेको र पर्याप्त मल पाउन कठिन हुने गरेको भन्दै मलको समस्याको दीर्घकालीन रूपमा समाधान गर्ने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरूले देशका विभिन्न भागमा भएका दुर्घटनाका घाइतेको उपचार र दुर्घटनामा मृत्यु भएका व्यक्तिको परिवारलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसदहरूले लुम्बिनी प्रदेशमा पानी नपरेका कारण सुख्खा ग्रस्त बनेको भन्दै सङ्कटग्रस्त क्षेत्र घोषणा गरी राहत र अनुदान उपलब्ध गराउन माग गर्नुभयो ।

यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले आज पनि प्रतिनिधि सभा बैठक बहिष्कार गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्