बाजुराको बिच्छ्या एक महिनादेखि फोन सम्पर्कविहीन
बाजुरा । हिमाली गाउँपालिकाको सर्वाधिक विकट क्षेत्र मानिने बिच्छ्या एक महिनादेखि फोन सम्पर्कबाहिर रहेको छ।
वडा नम्बर २ स्थित कोट गाउँमा रहेको नेपाल टेलिकमको टावर गत जेठ १९ गतेदेखि बिग्रिएपछि बिच्छ्याका नागरिक सम्पर्कविहीन बनेका हुन्। स्थानीय राजबहादुर थापाका अनुसार टावर बिग्रिएपछि वर्षायामका समस्याबारे जानकारी दिनसमेत कठिनाइ भएको छ।
२०७५ सालमा स्थापना गरिएको सो टावर ‘टु जी’ प्रविधिमा आधारित छ, जसले घाम लाग्दा मात्र सामान्य फोन सेवा दिन्थ्यो। तर, टावर बिग्रिएको एक महिनाभन्दा बढी भइसक्दा पनि मर्मत नहुँदा स्थानीयको दैनिकी प्रभावित भएको छ। बिच्छ्यामा अहिलेसम्म फोरजी सेवा पुगेको छैन।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले नागरिकले भोगिरहेको समस्या समाधानका लागि नेपाल टेलिकम बाजुरासँग समन्वय भइरहेको बताउनुभयाे।
नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहका अनुसार टावर मर्मतका लागि प्राविधिक टोली खटिसकेको छ। तर, लगातारको खराब मौसमका कारण काममा ढिलाइ भएको र अब केही दिनभित्र सेवा पुनः सुचारु हुने जानकारी दिनुभयाे।
बिच्छ्याका अलावा कवाडी, बाम र गुम्बा गाउँ पनि अझै फोन नेटवर्कको पहुँचबाट टाढा छन्।
प्रतिक्रिया राख्नुहोस्