तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रधानमन्त्रीकाे स्पेन भ्रमण देशको हित र कल्याणका लागि अत्यन्तै महत्वपूर्ण’ (प्रेस नोटसहित)

काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओली स्पेनमा सम्पन्न विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुभई आज स्वदेश फर्किनुभएको छ । 

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे  र विभिन्न उच्च पदस्थ अधिकारीहरुले स्वागत गर्नुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकडीले सम्मानगारद् सलामी अर्पण गरेको थियो ।

स्वागत पछि आयोजित पत्रकार सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको तर्फबाट सम्मेलनमा सहभागी हुनुभएका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिताले नेपालको समृद्धिको यात्रामा विभिन्न राष्ट्रहरूको ध्यानाकर्षण गराउन सफल भएको बताउनुभयो । 

परराष्ट्र सचिव राईले भ्रमण देशको हित र कल्याणका लागि अत्यन्तै महत्वपूर्ण भएको उल्लेख गर्नुहुँदै सम्पन्न मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि सम्मेलनका क्रममा प्रधानमन्त्रीले  विचारहरू राख्नुभएको बताउनुभयो । 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न राष्ट्र प्रमुखहरूसँग  भेटवार्ता गर्नुभएको र यसले नेपालको वैदेशिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नेपालमा युरोपेली मुलुकबाट पर्यटक आकर्षणमा समेत योगदान पुग्ने देखिएको बताउनुभयो ।

परराष्ट्र सचिव राईले स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको, यस्तै स्पेन सरकारका अध्यक्ष प्रधानमन्त्री पेड्रो साञ्चेजबीच दुईपक्षीय भेटवार्ता भएको पनि बताउनुभयो । 

भ्रमणका क्रममा स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा.मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग प्रधानमन्त्री ओलीले  भेटवार्ता गर्नुका साथै विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुभएको र अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभएको पनि परराष्ट्र सचिव राईले जानकारी गराउनुभयो ।  

यस्तै, विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीले सहभागिता जनाउनुभएको र अन्य साइड इभेन्टहरूमा पनि प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको भन्नुहुँदै परराष्ट्र सचिव राईले स्पेनमा प्रधानमन्त्री ओलीले नेपाली समुदायसँग छलफल गर्नुभई नेपालको समृद्धिको यात्रामा जुट्न आग्रह समेत गर्नुभएको बताउनुभयो ।

२१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गर्नुभएको थियो भने प्रधानमन्त्री सहितको प्रतिनिधि मण्डलले यही असार १६ गतेदेखि १९ गतेसम्म स्पेनमा  भएको  सम्मेलनमा सहभागिता जनाएको थियो । 

‘प्रधानमन्त्रीकाे स्पेन भ्रमण देशको हित र कल्याणका लागि अत्यन्तै महत्वपूर्ण’ (प्रेस नोटसिहित):

प्रतिक्रिया राख्नुहोस्

Back to top button