भारतमा बन्धक बनाइएका ५७ नेपालीको उद्धार, गड्डाचौकी हुँदै स्वदेश फिर्ता

कञ्चनपुर । भारतको उत्तराखण्डस्थित रुद्रपुर र काशीपुर क्षेत्रबाट बन्धक बनाइएका ५७ जना नेपाली नागरिकको उद्धार गरिएको छ। उनीहरूलाई ‘किन इन्डिया’ संस्थाको पहलमा गड्डाचौकी नाका हुँदै स्वदेश फिर्ता गरिएको हो।
उद्धारपश्चात गड्डाचौकी नाकामा ओर्लिएका पीडितहरूले आफूहरूलाई बन्धक बनाउने गिरोहविरुद्ध नाराबाजी गर्दै उद्धारकर्ताप्रति आभार व्यक्त गरेका थिए। उनीहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर भारत लगिएको र त्यहाँ पुगेपछि कोठामा थुनेर खानपान तथा आवतजावतमा कडाइ गरिएको उनीहरूको भनाइ छ।
एक पीडितले भने, “हामीलाई २३ हजार भारु लिएर जागिरका लागि लगियो, तर त्यहाँ पुगेर थुनेर राखियो, न त काम थियो, न राम्रो खाना।”

उद्धार गरिएकामध्ये चितवनका १०, कैलालीका ९, सुनसरीका ५, उदयपुर, तेह्रथुम र पाँचथरका ४/४ जना, दाङ, स्याङ्जा र बाँकेका ३/३ जना, ताप्लेजुङ, डोटी र धादिङका २/२ जना तथा सर्लाही, कास्की, रुकुम, बाग्लुङ, इलाम र रुपन्देहीका १/१ जना छन्। उनीहरूलाई सम्बन्धित जिल्लामा सुरक्षित रूपमा पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो।
गड्डाचौकी नाकामा पीडितहरूलाई स्वागत गर्न प्रमुख जिल्ला अधिकारी ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी डम्बरबहादुर विश्वकर्मा पुग्नुभएकाे थियाे। डिआइजी विश्वकर्माले उद्धार सम्भव बनाउन नेपाल सरकार, भारत सरकार, नेपाली राजदूतावास र किन इन्डिया संस्थाबीच समन्वय भएको जानकारी दिनुभयो।

किन इन्डियाका प्रतिनिधि नवीन जोशीले स्थानीय प्रशासनको सहयोगमा सबै पीडितलाई सुरक्षित रूपमा नेपाल ल्याउन सफल भएको बताउनुभयो।
रोजगारीको सपना देखाइ भारतीय भूभागमा नेपालीहरूलाई ठगी र बन्धक बनाउने गतिविधि दोहोरिइरहेकाले सम्बन्धित निकायहरू गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको छ।
प्रतिक्रिया राख्नुहोस्