राज्यव्यवस्था समितिमा नेपाल प्रहरी सम्बन्धी विधेयकमाथि छलफल सुरु
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी सम्बन्धी विधेयक माथिको छलफल अगाडि बढाएको छ ।

विधेयकमाथि आज भएको सैद्धान्तिक छलफलमा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको नीतिगत, कानुनी र संरचनागत सुधारका लागि विधेयक महत्वपूर्ण भएकाले यसलाई छिटो पास गर्ने गरी छलफल अगाडि बढाउन समितिलाई आग्रह गर्नुभयो ।
गृहमन्त्री लेखकले प्रहरी प्रशासनको सुधार र यसलाई समय सापेक्ष बनाउन खुला छलफलका लागि सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
गृहमन्त्री लेखकले विधेयकहरू छिटो पारित गर्नुपर्ने र अड्काएर राख्न नहुने भन्दै नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभामा पेस हुने जनाकारी पाएको र सम्भव भएसम्म त्यसै दिन विधेयक पारित गर्ने बताउनुभयो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिबाट पारित भएका विधेयक सदनमा पुगुन्जेलसम्म धेरै चलखेल हुने गरेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो ।
अध्यक्ष प्रचण्डले देशको राजनीतिक परिस्थितिलाई हेरेर महत्वपूर्ण विधेयकहरू सदनमा पु¥याएको भएपनि सदनको कार्यसूचीमा चढेर पनि हटाउने कुरा विडम्बनापूर्ण भएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले महत्वपूर्ण विधेयक सदनबाट पारित हुने विश्वासका साथ आफु सरकारसँग केही लचिलो भएको भएपनि समितिबाट सर्वसम्मत पारित भएका विधेयक सदनमा ठिक ढंगले प्रस्तुत नहुनु चिन्ताको विषय बनेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले संघीय प्रहरी ऐन सम्बन्धी विधेयकमाथि गहिरो छलफल आवश्यक रहेको बताउँदै सरोकारवाला र सम्बन्धित सबैका राय सुझाव लिएर अधिकतम परिमार्जनसहित समयसापेक्ष बनाएर पारित गर्नुपर्ने बताउनुभयो ।
छलफलमा राप्रपाका सांसद तथा पूर्व प्रहरी आइजिपी ध्रुवबहादुर प्रधानले प्रहरी सङ्गठनलाई निष्पक्ष नबनाएसम्म उपलब्धि हासिल गर्न नसकिने भन्दै प्रहरीले निष्पक्ष रुपमा काम गर्ने वातावरण बन्नुपर्ने बताउनुभयो ।
छलफलमा सांसदहरुले प्रहरीलाई स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्ने कुरामा केन्द्रित गराउन आवश्यक रहेको, प्रहरीप्रति जनताको विश्वास जगाउने, राजनीतिक हस्तक्षेप अन्त्य गर्ने, व्यावसायिकताको विकास गर्नेगरी विधेयकलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्