विद्यार्थीहरु ‘पढ्दै,कमाउँदै’: प्रभावकारी बन्दै कार्यक्रम
बाजुरा । बाजुराका विभिन्न विद्यालयमा सञ्चालित ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
यस कार्यक्रम अन्तर्गत प्रभावकारी बन्ने विद्यालयहरूमा जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर २ स्थित सत्यवादी माध्यमिक विद्यालय पनि एक हो ।

गएको शैक्षिक सत्रबाट विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत कृषि खेती सुरु गरिएको प्रधानाध्यापक मानबहादुर हमालले जानकारी दिनुभयो । उहाँका अनुसार अभिभावकको मन्जुरी र विद्यार्थीको सहमतिका आधारमा विद्यार्थीलाई खेतीमा आवद्ध गराइएको छ ।
कक्षा ७ देखि १० सम्मका ४५ जना बालबालिका कृषि खेतीमा आवद्ध छन् । वडाको गौरवको योजना अन्तर्गत मौसमी, बेमौसमी तरकारी, आलु, प्याजसहितको खेती सुरु गरिएको वडाअध्यक्ष डम्मर महतले बताउनुभयो ।
विद्यालयमा २ सय बढी विद्यार्थी अध्ययनरत छन् । ती मध्ये सहमत भएका ४५ जनालाई मात्रै सो कार्यक्रममा सहभागी गराइएको छ ।

विद्यार्थी विद्यालय समय बाहिर खाली बस्ने, अनावश्यक घुमफिर गर्ने र विद्यालयको पाठ्यक्रममा समावेश शिक्षाले ज्ञान आर्जन बाहेक कुनै सीप नसिक्ने अवस्था रहेकाले खेती लगाउन सुरु गरिएको वडा अध्यक्ष महतको भनाइ छ ।
विद्यालयले ५ रोपनी जमिन भाडामा लिएको छ । विद्यालय नजिक रहेको जमिन कृषि खेतीकै लागि भनेर भाडामा लिएर पहिलो वर्ष उत्पादन समेत सुरु गरिसकेको छ । जमिनको भाडा तिर्न र बीउबिजन, औजार उपकरणका लागि वडाले ५ लाख रुपैयाँ सहयोग गरेको थियो ।
खेती सुरु गरेको पहिलो सिजनमा आलु र प्याज उत्पादन गरिएको छ । करिब १५ क्विन्टल प्याज र ८ क्विन्टल आलु फलाएको र बर्खे सिजनको कृषिबाली लगाउन थालिएको विद्यालयले जनाएको छ ।
हाल बाजुराका बजारमा प्याज ६० देखि ७० र आलु ४० देखि ५० रुपैयाँ प्रतिकेजी छ । उत्पादन गरिएको प्याज र आलु बिक्री गर्दा करिब डेढ लाख बढी हुन आउँछ । एउटै सिजनमा ४० जना अप्राविधिक विद्यार्थीले डेढ लाख कमाएपछि अभिभावक र शिक्षक दुवै हौसिएका छन् ।

कुल आम्दानीको २० प्रतिशत विद्यालयलाई दिने र बाँकी ८० प्रतिशत विद्यार्थीलाई दिने कार्यविधि बनाइएको छ । विद्यार्थीको बैङ्क खाता अनिवार्य खोल्ने र उनीहरूको कमाई त्यही खातामा राखिदिने कार्यविधिमा उल्लेख छ ।
बडीमालिका नगरपालिका भित्र २४ वटा सामुदायिक विद्यालय छन् । तीन मध्ये सत्यवादी मावि भौनेरा र चोयाकोट मावि रजालीमा पढ्दै कमाउँदै कार्यक्रम छ । चोयाकोटमा पनि विद्यार्थीहरूले तरकारी, चोयाका डोका, डस्टबीन र कुच्चा उत्पादन गर्ने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्