बैंकले किसानहरूलाई सहज ढंगले ऋण प्रवाह गर्नुपर्छ : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले साना किसानहरूलाई समेत सहज, सरल र सुलभ ढंगले ऋण प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रवादी गणतान्त्रिक मोर्चाले कृषिका विभिन्न विषय बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री अधिकारीले बैक तथा वित्तीय संस्थाले किसानहरूको गरिबीबाट माथी उठ्न सक्ने गरि ऋण प्रवाह गर्नुपर्ने र छिट्टै मन्त्रालयले यसबारे नेपाल राष्ट्र बैंकसँग छलफल गर्ने तयारी गरेको उल्लेख गर्नुभयो ।
यस पटकको बजेटमा प्राङ्गारिक मलको प्रवर्द्धनका लागि मन्त्रालयले पहिलो पटक बजेटको व्यवस्था गरेको र यसबाट कृषिमा रासायनिक मलको परनिर्भरता बिस्तारै अन्त्य गर्ने बाटोको सुरुवात गर्ने अपेक्षा मन्त्री अधिकारीले व्यक्त गर्नुभयो । कृषि अनुदानमा दुरुपयोग भएको विषयमा गठित छानबिन समितिले काम गरिरहेको र यसको प्रतिवेदन पछि दुरुपयोग गर्ने व्यक्ति तथा फर्म माथी कारबाही गरिने पनि मन्त्री अधिकारीले बताउनुभयो ।
आफूले मन्त्रालयको नेतृत्व लिएपछि १ खर्ब ७ अर्ब रुपैयाँ अनुदान लिने व्यक्ति तथा फर्मको नाम सार्वजनिक गरेको र आगामी दिनमा यसले अनुदानमा पारदर्शिता कायम हुने विश्वास व्यक्त गर्नुभयो ।
संविधान सभा सदस्य हरिचरण शाह संयोजकत्वले बुझाएको ज्ञापन पत्रमा किसानलाई सुलभ तरिकाले कृषि ऋण दिने व्यवस्था गरिनुपर्ने, आयातित फलफूल तथा तरकारीको विषादी परिक्षण गरिनुपर्ने, कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका विषय रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्