तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठक : २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु भएको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै बजेट यथार्थपरक खर्च र कार्यान्वयनयोग्य विनियोजन प्रस्ताव सहित प्रस्तुत भएको बताउनुभयो ।

बैठकमा अर्थमन्त्री पौडेलले बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधि विस्तार हुने, निजी क्षेत्रको लगानी बढ्ने, रोजगारीका अवसरहरू सिर्जना हुने, पूर्वाधार आयोजनाहरू निर्धारित समयमा सम्पन्न भई आर्थिक वर्षको अन्त्यसम्ममा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अनुमान रहेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पौडेलले बजेटमा केही महत्वपूर्ण नीतिगत सुधारको प्रस्ताव गरिएको र विकासका लागि वैकल्पिक वित्त व्यवस्थापन गर्ने सोचलाई जोड दिएको पनि बताउनुभयो ।

अर्थमन्त्री पौडेलले बजेटमा आयोजना व्यवस्थापन र खरिद प्रक्रियामा महत्वपूर्ण सुधार गरिएको, विनियोजन गरिने अङ्कको सीमा निर्धारण गरिएको र आयोजना कार्यान्वयनको सघन अनुगमनको प्रबन्ध गर्ने प्रस्ताव पनि गरिएको बताउनुभयो ।

यस्तै अर्थमन्त्री पौडेलले चालु आवको बजेट कुल जिडिपीको २८ प्रतिशतको हाराहारीमा राखिएको र चालू खर्चको दायरालाई नियन्त्रणमा राख्न प्रस्तुत बजेटले लक्ष्य लिएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता र स्रोत व्यवस्थापनको सीमाबिच पुँजीगत खर्चतर्फ १६ प्रतिशतले वृद्धि हुने गरी प्रस्ताव गरिएको, प्रदेश र पालिकाहरूमा जाने वित्तीय हस्तान्तरण वृद्धि गरिएको र राजश्वले कुल खर्च ६७ प्रतिशत खर्च धान्न सक्ने गरी प्रस्ताव गरिएको बताउनुभयो ।

यसैगरी बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सांसदहरुले मुलुक सम्पत्ति शुद्धीकरणको सघन अनुगमनमा पर्नुको कारण र कमजोरीहरू औँल्याउँदै आर्थिक सुशासन कायम गर्नेगरी यथार्थपरक बजेट आएको बताउनुभएको छ ।

छलफलमा सांसद सोनम ग्याल्जेन शेर्पाले बजेटले संघीय सबलीकरण, सन्तुलित विकास, जलविद्युत उत्पादन र प्रसारण, ऊर्जा चुहावट न्यूनीकरण, वातावरण संरक्षणका क्षेत्रमा महत्वपूर्ण व्यवस्थापन गरेको बताउनुभयो ।

सांसद नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटले राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न नसेकेको बताउनुभयो ।    

सांसद श्रेष्ठले अपेक्षाअनुसारको बजेट आउन नसकेका कारण अहिले जनतामा निराशा पैदा भएको सामाजिक न्याय, सुशासन, समृद्धिको कार्यान्वयन हुनेगरी बजेट प्रस्तुत नभएको बताउनुभयो ।

सांसद कमला पन्तले स्वच्छ खानेपानीको पहुँच वृद्धिमा जोड दिनुपर्ने, पूर्वाधार विकासमा जोखिमको मध्यनजर गर्दै परिणामको यथार्थ आङ्कलन गरी योजना निर्माण गर्नुपर्ने र अधुरा योजनाको पूर्णतामा सरकारले जोड दिनुपर्ने बताउनुभयो ।

सांसद बेदुराम भुषालले बजेटमा पुँजीगत खर्चतर्फ स्रोतको सुनिश्चितता नदेखिएकोले लक्ष्य अनुसार आर्थिक वृद्धि हासिल गर्नमा असर पार्नसक्ने बताउनुभयो । सांसद भुषालले कृषि, उत्पादन र बजारीकरण क्षेत्रमा अपेक्षाकृत रुपमा बजेट विनियोजन हुन नसकेको पनि उल्लेख गर्नुभयो ।

छलफलमा सांसदहरु सारदा देवी भट्ट, उर्मिला अर्याल, नारायणदत्त मिश्र, राजेन्द्रलक्ष्मी गैरे, रुक्मिणी कोइराला, युवराज शर्मा, नरबहादुर बिस्ट, झक्कुप्रसाद सुवेदी, विष्णुकुमारी सापकोटा, राधेश्याम पासवान, इन्दिरादेवी गौतमले आ आफ्नो धारणा राख्नुभएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक भोली बिहीबार दिनको १:१५ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button