तपाईँ सुन्दै हुनुहुन्छः

अहिलेको सत्ता सहयात्रा ढुक्कले चुनावसम्मै जान्छ : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्नुभएको छ ।

भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा सो पालिकाका दुई सयलाई जग्गा धनीपूर्जा वितरण भएको हो ।

प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै अहिलेको सरकारले  मुलुकमा स्थिरता कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताउनुभयो । उहाँले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै पारित गरिने जनाउनुभयो । 

प्रधानमन्त्री ओलीले जमिन खेर जान नदिई ठुला ठुला चाक्ला बनाएर व्यावसायिक खेती गरेर आर्थिक समृद्धिमा लाग्न आग्रह गर्नुभयो । उहाँले देश विकासको गतिमा अग्रसर भएकोले निराशा र कुनै हल्लाको पछि लाग्नु नपर्ने बताउँदै शिक्षा र स्वास्थ्य आदिका क्षेत्रमा ठुलो परिवर्तन भएको जनताले अनुभव गरेको र अझै ठुलो परिवर्तनका लागि सरकारले काम गरिरहेको स्पष्ट गर्नुभयो ।

”यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरू कराउन् । सरकारको एक वर्ष बित्यो । अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु । त्यसपछि हाम्रो सहमति बमोजिम नेपाली काङ्ग्रेसका सभापति एवं मेरो लामो लोकतान्त्रिक आन्दोलनका सहयात्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिनेछ । चुनावसम्म यो यात्रा जारी रहन्छ । म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छु।” उहाँले भन्नुभयो ।

कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्म भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई क्रमशः जग्गा धनीपूर्जा वितरण गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button