तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा लगानी र विकासका लागि स्थायित्व जरुरी: परराष्ट्र मन्त्री राणा

धनगढी। परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार विकास र आर्थिक समृद्धि हासिल गर्न क्रियाशील रहेको बताउनुभएको छ । 

आज धनगढीमा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले विकास र लगानीका लागि शान्ति र  स्थिरता जरुरी रहेको बताउनुभयो । 

मन्त्री राणाले सुशासन, राजनैतिक स्थायित्व र समृद्धिका लागि वर्तमान सरकार  गठन भएको र त्यसका लागि प्रमुख दुई दल काँग्रेस र एमाले  प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेशका विकासको प्रचुर सम्भावना रहेको उल्लेख गर्नुहुँदै लगानी सम्मेलनले जलविद्युत, पर्यटन लगायतका क्षेत्रका लगानीको वातावरण सृजना गर्ने विश्वास ब्यक्त गर्नुभयो । 

मन्त्री राणाले एकीकृत विकास प्रणालीको विकास गरि अघि बढ्नु पर्नेमा जोड दिनुहुँदै सुदूरपश्चिमले विकासका क्षेत्रमा धेरै उपलब्धी हासिल गरेको बताउनुभयो ।

सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विकासको प्रतिफल आउने गरि लगानी प्रवाह गरिनु पर्ने बताउनु भयो । उहाँले आन्तरिक र बाह्य लगानी भित्र्याउन सम्मेलनले सहयोग पुर्‍याउने बताउनुभयो ।

यसैगरी वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले पर्यटन विकासलाई वन क्षेत्रसँग जोडेर लैजानु पर्ने बताउनुभयो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको विकास र समृद्धिका लागि आगामी असोजमा लगानी तथा विकास सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा आयोजित तयारी सम्मेलनमा मन्त्रीगण, प्रदेश सभा सदस्य, दातृ निकायका प्रतिनिधि, लगानी बोर्ड तथा नीति तथा योजना आयोगका पदाधिकारी, सरोकारवाला निकाय, विज्ञ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button