जनप्रदर्शन सफल पार्न एमालेमा नेताहरूको जिम्मेवारी बाँडफाँड, कसलाई के जिम्मेवारी ?
काठमाडौं I नेकपा एमालेले ज्येष्ठ १५ गते आयोजना गर्ने विशाल जनप्रदर्शनलाई सफल पार्न नेताहरूलाई विभिन्न जिम्मेवारी दिएको छ ।
आज बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेलामा नेताहरूको शक्ति परिचालन गर्नका लागि नेताहरूको जिम्मेवारी बाँडफाँडको सुची जानकारी गराइएको हो ।

महासचिव शङ्कर पोखरेलका अनुसार गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीहरूले फैलाएका भ्रमहरू चिर्नका लागि जनप्रदर्शनको तयारी गरिएको हो । जनसङ्गठनका अध्यक्ष, इन्चार्ज र काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरूको भेलामा महासचिव पोखरेलले नेताहरूको जिम्मेवारी बाँडफाँडको जानकारी गराउनुभएको हो । पोखरेलका अनुसार काठमाडौँ जिल्लाबाट व्यापक मात्रमा जनमानस परिचालन गर्नका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
जनसङ्गठनहरूको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ । विष्टलाई सबै जनसङ्गठनका इन्चार्जहरूले सघाउनुहुनेछ । एमालेमा ठूलो जनधार भएको सङ्गठनको रुपमा रहेको सम्पर्क समन्वयको संयोजनको जिम्मेवारी विभिन्न भूगोल अनुसार फरक फरक नेताहरूलाई दिइएको छ । जस अनुसार सुदूरपश्चिम र र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट बागमती प्रदेशका जिल्लाको जिम्मा उपमहासचिव प्रदीप ज्ञवालीलाई दिइएको छ । लुम्बिनी र गण्डकीका सबै जिल्ला समन्वयको जिम्मा सचिव पद्मा अर्याललाई तोकिएको छ । कोशी प्रदेशका जिल्लाहरूको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापालाई जिम्मेवारी दिएको छ । मधेस प्रदेशका आठवटै जिल्लाका सम्पर्क मञ्चहरूको समन्वय गर्न उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।
उपत्यकाका जनप्रदर्शनमा ठूलो सङ्ख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरू क्रमशः अष्टलक्ष्मी शाक्य गुरु बराललाई जिम्मेवारी तोकिएको छ । उपत्यका बाहेक बागमती प्रदेशका १० वटा जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ । स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ । उपत्यका विशेषको संयोजन सचिव योगेश भट्टराईलाई दिइएको छ । सबै विभागको संयोजनको जिम्मेवारी सचिव छविलाल विश्वकर्मालाई दिइएको छ ।
गणतन्त्र दिवसका दिन ज्येष्ठ १५ गते बिहान ११ बजे भृकुटी मण्डपमा एमालेका नेता कार्यकर्ता झाँकी, जुलुस र आफ्नो पार्टी,जनसङ्गठनको पहिचान सहित उपस्थित हुन पनि आजको भेलाले निर्देशन गरेको छ । हिजोको सचिवालय बैठकले ज्येष्ठ १५ गते काठमाडौँ सहित सबै पालिकाहरूमा गणतन्त्र दिवश भव्यताका साथ मनाउने निर्णय गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्