तपाईँ सुन्दै हुनुहुन्छः

रारा ट्रेल रनको उपाधि युगराज र सुनमायालाई

मुगु । नेपाली सेनाको आयोजनामा सम्पन्न पाँचौँ रारा ट्रेल रनको उपाधि जुम्लाका युगराज बुढा र सुनमाया बुढाले जितेका छन्। रारा ताल वरपरको १६ किलोमिटर दुरीमा गरिएको ट्रेल रनमा देशभरिबाट २१३ जना धावकले सहभागिता जनाएका थिए।

पुरुषतर्फ कन्कासुन्दरी गाउँपालिका–३ का युगराज बुढाले १ घण्टा १२ मिनेटमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरे। सोही पालिकाका वडा नं. १ का सोमबहादुर रावत दोस्रो तथा वडा नं. २ का चन्द्र रावत तेस्रो भए।

महिलातर्फ पातारासी गाउँपालिका–२ की सुनमाया बुढा पहिलो, कल्पना बुढा दोस्रो र राज्यलक्ष्मी रावल तेस्रो स्थानमा रहे।

विजयी खेलाडीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ। पहिलो हुनेले रु ५० हजार, दोस्रोले रु ३० हजार र तेस्रो हुनेले रु २० हजार प्राप्त गरे।

पुरस्कार वितरण कार्यक्रम नेपाली सेनाका उत्तरपश्चिम पृतनापति उपरथी अनुपजङ्ग थापा, वाहिनीपति सहायक रथी संजय देउजा र प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले सम्पन्न गरेका थिए।

यस वर्षको प्रतियोगितामा ५५ वर्षीय उपरथी अनुपजङ्ग थापाले ज्येष्ठ खेलाडीको रुपमा सहभागिता जनाएका थिए।

कर्णाली क्षेत्रको पर्यटन प्रवर्द्धन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धावक उत्पादन गर्ने उद्देश्यले नेपाली सेनाले हरेक वर्ष रारा ट्रेल रन आयोजना गर्दै आएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button