तपाईँ सुन्दै हुनुहुन्छः

कटकुइयाँ स्वास्थ्य चौकीको पहल : नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा

बाँके। बाँकेको नरैनापुर गाउँपालिकाले स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गर्दै घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेको छ। गाउँपालिकाका अनुसार यो सेवा हरेक महिनाको दुई दिन नियमित सञ्चालन हुँदै आएको छ।

स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिँदै कार्यक्रम फरक क्षमता भएका, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र सुत्केरी महिलालाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको बताउनुभयो । उहाका अनुसार अधिकांश नागरिकले स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने अवस्था देखिएपछि सेवा घरदैलोबाट उपलब्ध गराउन थालिएको हो।

नरैनापुर–१ कटकुइयाँका ९१ वर्षीय लहरी चमारले बुढेसकालमा लौरो टेकेर स्वास्थ्य चौकी जानुपर्ने बाध्यता हटेको बताउँदै, “अब त सरकार घरमै आएको जस्तो लाग्छ,” भने। मंझ्रेटीकी ८० वर्षीया रज्जा अहिरनले पनि यस्तो सेवा घरमै पाउँदा अत्यन्त खुसी लागेको बताइन्।

कटकुइयाँ स्वास्थ्य चौकीका अनुसार हालसम्म १०० भन्दा बढीले घरमै पुगेर स्वास्थ्य सेवा लिएका छन्। उक्त वडामा १,२०० भन्दा बढी घरधुरी छन्।

गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका अनुसार स्वास्थ्यकर्मी घरमै पुगेर बिरामीको उपचार गर्नुका साथै दीर्घरोगीलाई निःशुल्क औषधि वितरण भइरहेको छ।

स्वास्थ्य चौकीकी अनमी अस्मिता भारतीले सुत्केरी र नवजात शिशुमा संक्रमणको जोखिम बढेकाले घरमै सेवा दिन थालिएको जानकारी दिइन्। उनका अनुसार सुत्केरी भएको २४ घण्टा, ३ दिन र ७ दिनमा स्वास्थ्य जाँच अनिवार्य भएकाले दुर्गम ठाउँमा स्वास्थ्यकर्मी पठाउने गरिएको हो।

अनमी सामना गुरुङका अनुसार, वडा नं. १ नरैनापुरकै सबैभन्दा दुर्गम क्षेत्र हो। पहिले जनचेतनाको कमीले घरमै सुत्केरी हुने गर्थे, तर अहिले सबै सुत्केरी स्वास्थ्य चौकीमै हुने गरेको उनले बताइन्।

स्थानीय मिना चमारले स्वास्थ्य सेवा घरमै पाएपछि डर र त्रास कम भएको अनुभव सुनाइन्। नियमित गर्भ परीक्षण, आइरन चक्की वितरण जस्ता सेवाले मातृ मृत्युदर घटाउन सहयोग पुगिरहेको अनमी भारतीको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button