तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा: श्रमिकको मृत्यु भएको विषयमा सरकारको ध्यानकर्षण 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले काभ्रेको धुलिखेलमा ११ हजार भोल्टको हाइटेन्सन लाइनमा बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा श्रमिकको मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले विद्युत् प्राधिकरणको लापरवाहीका कारण शनिबार धुलिखेलमा उपेश परियारको विद्युतको काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको भन्दै तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो ।

सासदहरु सूर्यमान तामाङ दोङ , शिव नेपाली, ज्ञानबहादुर शाही, रणेन्द्र बराइली लगायतले बैठकको आकस्मिक समयमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र श्रमिकको सुरक्षाकालागि विद्युत् प्राधिकरण गम्भीर बन्नुपर्ने बताउनुभयो ।

सांसदहरुले विना जानकारी जुनसुकै समयमा बिजुली काटिँदा समस्या उत्पन्न भइरहेको र अँध्यारोमा बस्नुपर्दा जनता मारमा परेको भन्दै सरकार र सम्बन्धित पक्षलाई संवेदनशील बन्न आग्रह गर्नुभयो । 

सांसद सराज अहमद फारुकीले देशका विभिन्न भागमा दुर्घटनाबाट मानिसको मृत्यु हुने क्रम बढेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै दुर्घटना न्युनिकरणका लागि सरकारसँग माग गर्नुभयो । 

सांसद अब्दुल खाँनले सर्लाहीमा मुस्लिम समुदायका मानिसहरूलाई बङ्गुरको खोरमा थुनेको तथा मुस्लिम र दलितहरूको आस्थामाथि हमला भइरहेको भन्दै मुस्लिम समुदायको धार्मिक सांस्कृतिक पहिचानको संरक्षणको लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकको शुन्य समयमा सांसदहरुले देशका विभिन्न भागमा सडक पूर्वाधार समयमा मर्मत र निर्माण हुन नसक्दा समस्या भइरहेको, वर्षा सुरु भएसँगै राजमार्ग अवरुद्ध हुन शुरु भएको भन्दै समस्या समयमा नै समाधान गर्न माग गर्नुभयो ।

सांसदहरुले सडक, पुल, विद्यालय, सामुदायिक भवन, मन्दिर, गुम्बा स्तुपा लगायतका सांस्कृतिक पूर्वाधारको निर्माणका विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button