तपाईँ सुन्दै हुनुहुन्छः

रारा गोल्डकप : विर्तामोड फाइनलमा प्रवेश

धनकुटा । धनकुटाको राजारानीमा जारी रारा गोल्डकप फुटबल प्रतियोगिताको १२ औँ संस्करणमा विर्तामोड युनाइटेड क्लब झापा फाइनलमा प्रवेश गरेको छ। 

चौबिसे गाउँपालिका ६ राजारानी खेलमैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा मोरङको गोल्डेन स्टार युथ क्लब सुनसरीलाई ४–१ गोल अन्तरले हराउँदै विर्तामोड युनाइटेड क्लब उपाधि नजिक पुगेको हो। 

खेलमा बिर्तामोडका मौसम सुब्बाले ८ औँ, ३६ औँ र ७९ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो। यस्तै खेलको ९२ औँ मिनेटमा बिर्तामोडका आर्यन राईले गोल गर्नुभयो। गोल्डेन स्टारका सविन घिमिरेले ८९ औँ मिनेटमा सान्त्वना गोल गर्नुभयो। 

खेलको म्यान अफ द म्याच बिर्तामोडका मौसम सुब्बा घोषित हुनुभयो। उहाँले नगद ७ हजार रुपैयाँ र ट्रफि पाउनुभयो। 

बिर्तामोडले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल खेल शनिबार एलएक्स सिटी फुटबल क्लब मोरङ र चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँबिच प्रतिस्पर्धा हुनेछ। 

धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालबाट सुरु भएको हो। 

प्रतियोगिताको विजेतालाई नगद ७ लाख रुपैयाँ र उपविजेतालाई नगद ३ लाख रुपैयाँ हात पार्ने आयोजक समितिका संयोजक मणि चेम्जोङले बताउनुभयो। प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने र सबै विधाका सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button