भारत-पाकिस्तान द्वन्द्व बाँकेका सीमा नाकामा गस्ती र कडाइ, परिचयपत्र अनिवार्य
नेपालगञ्ज । पहलगाम हमला पश्चात् चर्किएको भारत पाकिस्तान युद्धकाबिच नेपाल-भारत सीमामा दुवै तर्फबाट निकै कडाइ गरिएको छ ।
सम्भावित घुसपैठ हुन सक्ने भन्दै नेपालगञ्जस्थित जमुनाहा नाका र जिल्लाका सबै अन्य साना नाकाहरूमा सुरक्षामा कडाइ बढाउँदै नाकाबाट आवागमन गर्ने नेपाली तथा विदेशीहरूका लागि सशस्त्र प्रहरीले अनिवार्य परिचयपत्र लागू गरेको छ ।

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म जयसपुरका डिएसपी महेश केसीले सीमा नाकामा सुरक्षा सतर्कता बढाउने निर्देशन बमोजिम सुरक्षा कडा पारिएको बताउँदै परिचय खुल्ने कागजात बोकेकालाई मात्रै नेपाल-भारत आउजाउ गर्न दिइएको बताउनुभयो । नेपाल बाहेकका नागरिकलाई विशेष सोधपुछपछि परिचय खुल्ने कागजात हेरेर मात्र इन्ट्री गर्दै गन्तव्यमा पठाउने गरेको डिएसपी केसीले बताउनुभयो ।
यसअघि नै भारतीय सशस्त्र बल (एसएसपी) ले रुपैडिहा नाकामा आवागमन गर्ने नेपाली र भारतीय नागरिकहरूको अनिवार्य परिचयपत्र हेर्दै आएको थियो । हाल आएर जमुनाहा भएर नेपाल भारत आउने जानेलाई सशस्त्र प्रहरीले नाकामा परिचयपत्र हेर्न थालेको हो । डिएसपी केसीका अनुसार अहिले नेपाल आउने तथा भारत जाने हरेकको परिचय खुल्ने कागजात हेरेर मात्र आउन दिइएको छ भने आवागमन गर्ने हरेकमाथि कडा निगरानी बढाइएको छ ।
गलत नियतले कसैको पनि नेपाल प्रवेश नहोस् भन्ने उद्देश्यका साथ मुख्य नाकामा परिचयपत्र हेर्न थालिएको जनाउँदै अन्य खुला नाकाहरूमा पनि गस्ती र सुरक्षा बढाइएको केसीले बताउनुभयो । यसअघि नै परिचय खुल्ने कागजात भएकालाई मात्र भारत प्रवेश गर्न र नेपाल आउन दिँदै आएको भारतीय सुरक्षा निकाय एसएसपीले अहिलेको अवस्थामा नाकामा विशेष तालिम प्राप्त सुरक्षाकर्मी र तालिम प्राप्त कुकुरबाट हरेकको चेकजाँच गराएर मात्र आवागमन गर्न दिएको छ ।
नेपाल-भारत सीमा नाकामा नेपाल भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती तथा एकल गस्ती समेत सुरु गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । भारत र पाकिस्तानको द्वन्द्व चर्किएपछि भारतबाट जमुनाहा नाका भएर स्वदेश फर्किने नेपालीहरूको सङ्ख्या पनि दिनदिनै बढ्दै गएको डिएसपी केसीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्