तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजसहित मध्यतराईका नाकाहरूमा कडाइ, संयुक्त सुरक्षागस्ती 

वीरगंज । भारत, पाकिस्तानबिच द्वन्द्व चर्किँदै गएपछि नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीहरूले वीरगंज रक्सौल सीमा नाका सँगै बारा,पर्सा रौतहटका नाकाहरूमा समेत कडाइ बढाउँदै लगेका छन् ।

देशकै प्रमुख नाकाको रुपमा रहेको वीरगंज रक्सौल नाकामा सुरक्षा कडाइ बढाउँदै यस नाकाबाट आवागमन गर्नेहरूका लागि सशस्त्र प्रहरीले परिचय–पत्र अनिवार्य गरेको छ ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण वीरगंज पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले नाकामा सुरक्षा सतर्कता बढाउने निर्देशन बमोजिम सुरक्षा कडा पारिएको जनाउँदै परिचय खुल्ने कागजात भएका भारतीयलाई मात्र नेपाल प्रवेश गर्न दिएको बताउनुभयो । उहाँले परिचय खुल्ने कागजात नभएका भारतीयको बारेमा सोधखोज गरेर मात्र आउन दिइएको पनि बताउनुभयो । 

यसअघि गत केही वर्षदेखि भारतीय सुरक्षा निकाय सीमा सशस्त्र बल (एसएसबी) ले रक्सौल नाकामा आवागमन गर्ने नेपाली र भारतीय सबै नागरिकहरूका लागि परिचयपत्र अनिवार्य गरेको थियो । हाल आएर सशस्त्र प्रहरी बल नेपालले पनि वीरगंज रक्सौल सीमा नाकामा परिचयपत्र हेर्न थालेको हो । 

सशस्त्र प्रहरी बल १३ नम्बर गण वीरगंज पर्साका अनुसार अहिले नेपाल आउने हरेकको परिचय खुल्ने कागजात हेरेर मात्र आउन दिइएको छ भने आवागमन गर्ने हरेकमाथि कडा निगरानी बढाइएको छ । 

उता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले भारत पाकिस्तान द्वन्द्व बढेपछि अहिले नाकामा कडाइ बढाउँदै लगिएको जनाउँदै सशस्त्र प्रहरीले नेपाल आउनेहरूको परिचय पत्र हेर्न थालेको बताउनुभयो । 

उहाँले कुनै पनि गलत मानिसको नेपाल प्रवेश नहोस् भन्ने उद्देश्यका साथ मुख्य नाकामा परिचय पत्र हेर्न थालिएको जनाउँदै अन्य खुला नाकाहरूमा पनि गस्ती र सुरक्षा बढाइएको बताउनुभयो । 

सशस्त्र प्रहरीले नाकामा सुरक्षा चेकजाँचका लागि तालिम प्राप्त कुकुर समेत परिचालन गरेको छ । उता, सिमावर्ती रक्सौल स्थित एसएसबी फोर्सले समेत नेपाल भारत आवत जावत गर्नेहरूलाई नाकामा विशेष तालिम प्राप्त सुरक्षाकर्मी र तालिम प्राप्त कुकुरबाट प्रत्येक व्यक्तिको चेक जाँच गराएर मात्र आवागमन गर्न दिएको छ । 

नेपाल भारत सीमा नाकामा नेपाल भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती र पेट्रोलिंग तथा एक्ला एक्लै गस्ती समेत सुरु गरेको दुवै देशका सुरक्षा निकायले जनाएका छन् ।

भारत र पाकिस्तानको द्वन्द्व चर्किएपछि भारतबाट स्वदेश फर्किने नेपालीहरूको सङ्ख्या पनि दिनदिनै बढ्दै गएको वीरगंज स्थित नेपाल भारत नाकामा रहेको इलाका प्रहरी कार्यालय इनर्वाले जनाएको छ । 

यसका अलवा सशस्त्र प्रहरीले नेपाल भारतको खुल्ला सीमा भएको कारण पर्साको ठोरी देखि वीरगंज सम्मका सम्पुर्ण नाका तथा सिमाक्षेत्रमा चौबिसै घण्टा निगरानी र पैदलगस्ती समेत सुरु गरेको सशस्त्र प्रहरी उपरिक्षक धिमालले बताउनुभयो । 

सुरक्षालाई व्यवस्थित र कडा बनाउन भारतीय सीमा सुरक्षा बल एसएसबी फोर्स सँग समन्वय गरी कतिपय स्थानमा संयुक्त गस्ती समेत शुरु गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button