दार्चुलामा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त नमुना अभ्यास
दार्चुला । दार्चुलामा सम्भावित विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यका बारेमा नेपाली सेनाको श्रीदल गुल्मले आइतबार संयुक्त पूर्वतयारी अभ्यास गरेको छ ।

श्रीदल गुल्मको आयोजनामा मनसुनजन्य विपद् (बाढी र पहिरो) लाई लक्षित गर्दै विपद् पूर्व तयारी तथा प्रतिकार्य अभ्यास सम्पन्न गरिएको हो ।
नेपालमा मनसुनको समयमा हुने भारी वर्षको करण बाढी, डुबान र पहिरो जस्ता प्राकृतिक विपदबाट हुन सक्ने क्षतिलाई कमगर्न श्रीदल गुल्मले बाढी तथा पहिरोबाट प्रभावितलाई तत्काल उद्धार र राहत कार्य प्रभावकारी रुपमा गर्न ‘अभ्यास मनसुन–५’ सम्बन्धि डेमो प्रदर्शन गरिएको गुल्म पति उत्तम खडकाले बताउनुभयो ।

महाकाली नगरपालिका वडा नम्बर ४ लास्कुखोला क्षेत्रमा गरिएको अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस, एनसीसी र स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । ३४ जन नेपाली सेना, २४ जना सशस्त्र प्रहरी, १५ जना नेपाल प्रहरीले र ९ जना एनसीसीको टोलीले संयुक्त रुपमा बाढी पहिरो लगायतको विपद्मा परेकाहरूको उद्धार गर्ने कार्यको अभ्यास गरेको थियो ।
नेपालको भौगोलिक बनावट तथा जलवायु परिवर्तनका कारण बाढी र पहिरोको विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न प्रतिकार्य टोली प्रभावकारी रुपमा परिचालित हुनुपर्ने कुरालाई मध्यनजर गर्दै मनसुनजन्य विपद् विरुद्ध खटिने प्रतिकार्य टोलीलाई अभ्यास गर्न लगाएको गुल्म पति खडकाले बताउनुभयो ।
सुरक्षाकर्मीहरूले गरेको नमुना अभ्यासको प्रशंसा गर्दै महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा विष्ट खत्रीले यो अभ्यासले भविष्यमा हुने प्राकृतिक प्रकोपमा उद्धार र राहात कार्यक्रम सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘विपत्को समयमा सुरक्षाकर्मीको साथ सहयोग चाहिन्छ त्यसको लागि नगरपालिका पनि सहयोग गर्दै सँगसँगै कार्य गर्नेछौँ’ ।

स्थानीय तहलाई विपद्को समयमा धेरै सहयोग गरेको नमुना अभ्यास हेर्न कार्यक्रम स्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले विपद् प्रतिकार्यको क्रममा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सक्रिय मनसुन अगावै विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा राख्न सञ्चालन गरिएको यस्तो अभ्यासले प्रभावकारी परिचालनका लागि तयारीको सङ्केत दिएको बताउनुभयो ।
दार्चुलाको अधिकांश भूभागमा पहिरोको जोखिम रहेको छ भने नदी तथा खोला तटीय क्षेत्रहरू बाढीको समयमा जोखिममा रहने गरेको छ । प्रदर्शनमा सबैभन्दा बढी पहिरोबाट हुने सम्भावित मानवीय क्षति कमगर्न गरिने पूर्व तयारी तथा विपद् पछिको प्रतिकार्यका बारेमा अभ्यास केन्द्रित थियो । नमुना अभ्यासमूलक प्रदर्शनमा विपद् पछि सुरक्षा फौजबाट हुने खोजतलास र उद्धारको कार्य पछि प्राथमिक उपचारमा अभ्यस्त हुने कार्य केन्द्रित गरिएको थियो ।
खोज र उद्धार, पुनर्स्थापना, घाइतेको उपचार, सरसफाइ, सुरक्षित स्थानमा पु¥याउने र प्रतिकार्य लगायतका कार्य सम्बन्धी काल्पनिक परिस्थिति अनुसारका अभ्यासहरू गरिएको थियो । विपद्को पूर्व तयारी संयुक्त अभ्यासका क्रममा सुरक्षाकर्मीले पहिरोमा परी भिरमा अडिएका व्यक्तिको उद्धार, बाढीले गर्दा नदी पारि रहेकाहरूको प्राथमिक उपचारपछि नदी क्रस गरी अस्पताल पुगाउने र पहिरो गएपछि भएको जनधनको क्षतिबाट बचाउन गरिने प्रयासको संयुक्त अभ्यास प्रभावकारी रहेको सहभागीहरूले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्