शिक्षकहरूलाई मर्यादाक्रमको सुचीमा समावेश गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले शिक्षकहरूलाई सरकारको मर्यादाक्रमको सुचीमा समावेश गर्ने निर्णय गरेको छ ।

यही बैशाख १५ र १७ गतेको मन्त्रीपरिषद्का निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षकहरूलाई हालसम्म सरकारको मर्यादाक्रमको सुचीमा सूचीकृत नगरिएको र शिक्षकहरूले अपमानित महसुस गरेका कारण सरकारको मर्यादाक्रमको सुचीमा राख्ने निर्णय भएको जानकारी दिनुभयो ।
शिक्षक महासङ्घले काठामाडौंमा गरेको आन्दोलनका क्रममा सरकारसँग भएको सहमति अनुसार सरकारले शिक्षकहरूलाई सरकारको मर्यादाक्रमको सुचीमा सूचीकृत गर्ने निर्णय गरेको हो ।
यसैगरी मन्त्रीपरिषद् बैठकले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरियण्ड म्याग्नेसाइट प्रालि गरि ७ वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले नेपाल स्मार्ट शहरसम्बन्धी सूचकहरू स्वीकृत गर्ने, नेपाल राष्ट्र बैङ्कको रिक्त गभर्नर पदमा नाम सिफारिस समितिका सदस्यमा पूर्व गभर्नरहरू मध्येबाट महाप्रसाद अधिकारी सदस्य रहने गरी समिति पुनर्गठन गर्ने, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गर्ने पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले वन तथा वातावरण मन्त्रालय अन्तर्गत सुरक्षार्थ खटिएका करारमा कार्यरत सशस्त्र वन रक्षकलाई समेत पोशाक उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने, नेपाल हज समिति (गठन तथा सञ्चालन) आदेश २०८१ स्वीकृत गर्ने र स्वास्थ्य बीमा (पहिलो संशोधन) नियमावली स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्