तपाईँ सुन्दै हुनुहुन्छः

मालिकार्जुन गाउँपालिकाको वडा केन्द्रित सेवा 

'घरदैलोमा स्थानीय सरकार'

दार्चुला  । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले सञ्चालन गरेको वडा केन्द्रित घुम्ती शिविर बुधबार (हिजो) सम्पन्न भएको छ । “लिएर सबै सेवाका प्रकार, घरदैलोमा स्थानीय सरकार” भन्ने नारा सहितको कर्मचारीको टोलिले गाउँपालिका कार्यालयबाट प्रभाव हुने सेवा वडा कार्यालयबाटै उपलब्ध गराएको हो । 

नागरिकको घरदैलोबाट सेवा दिने उद्देश्यले वैशाख १० गतेदेखि वडा नम्बर-६ उकुबाट सुरु गरिएको शिविर वैशाख १७ गते बुधबार १ नम्बर वडा कार्यालयबाट सेवा प्रभाव गर्दै सकिएको छ । 

एक साता सम्म सञ्चालन भएको शिविरबाट ७ वटै वडाका २ हजार ६ सय ९५ जना सेवाग्राहीले सेवा पाएका छन् । पशु सेवा केन्द्रले ३ हजार १ सय २६ पशुपक्षीका लागि औषधी वितरण गर्दै उपचार सहित परामर्श सेवा दिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले माछापुच्छ्रे बैङ्क लिमिटेड मालिकार्जुन शाखाको सहकार्यमा ६२ लाख २२ हजार ६ सय रुपैयाँ सामाजिक सुरक्षा रकम भुक्तानी गरेको छ । त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालय दार्चुलासँगको सहकार्यमा ए आई जडित एक्सरे सेवाबाट १ सय ६५ जनाको छातिको चेकजाँच र १७ जनाको क्षयरोगको नमुना सङ्कलन गरिएको छ । 

भौगोलिक रुपमा विकटता रहेका क्षेत्रमा बस्ने जनताको आवश्यकतालाई पुरा गर्न र गाउँपालिकाबाट प्रदान गरिने सेवाहरूमा नागरिकको पहुँच बढाउन सबै सेवालाई एउटा प्याकेज बनाएर शिविरबाट वडा—वडामा गएर सेवा दिएको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो । उहाँले भन्नु भयो हामी जनताको सेवा गर्न निर्वाचित भएका हौँ, हामीले दिने सेवा जनताको घरदैलोमा पुगाउन पालिकाको वार्षिक कार्यक्रम नै बनाए शिविर सञ्चालन गरिरहेका छौँ ।  

शिविरको पहिलो दिन वडा नम्बर ६ उकुमा सञ्चालन भएको शिविरबाट ३ सय ९ जनाले वडा स्तरबाटै विभिन्न सेवाहरू लिएका थिए । शिविरबाट वडा नम्बर ६ का ४० जना पुरुष र ५१ जना महिला गरी जम्मा ९१ जनाले १२ लाख ३३ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता बुझेका छन् । गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामीले बताउनुभयो । त्यस्तै २६ जनाले आयुर्वेद सेवा, ७३ जनाले स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा लिएको शिविरमा सहभागी गाउँपालिकाका सूचना अधिकारी सुरज प्रसाद जोशीले जानकारी दिनुभयो । शिविरबाट वडा नम्बर ६ का १३ जना किसानहरुलार्ई किसान सूचीकरणमा समावेश गरिएको उहाँले बताउनुभयो । 

त्यस्तै ४२ जनाले कृषि शाखाबाट प्राप्त गर्ने सेवा, ४८ जनाले पशु परामर्श तथा उपचार गरी कुल ३ सय ९ जना लाभग्राहीहरूले वडास्तरबाट सेवा लिएका छन् । गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी लगायत प्राविधिक सहितको गाउँपालिकाको टोलीले वडा भित्र सञ्चालन भएका ५ वटा योजनाहरूको अनुगमन गरेको थियो ।

वडा नम्बर-७ जोलजिविमा २ सय ९० जना सेवाग्राहीले विभिन्न सेवाहरू लिएका थिए, भने ५ सय १ पशुपन्छीको लागि औषधी उपचार र ५ वटा योजनाको अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष धामीले बताउनुभयो ।

वडा नम्बर ५ डाँडाकोटमा सञ्चालन भएको शिविरबाट ३ सय २२ जनालाई विभिन्न सेवाहरू प्रदान गरिएको र २ सय ६ वटा पशुपन्छीको औषधी उपचार सेवा दिइएको जनाइएको छ। त्यस्तै वडा नम्बर-५ मा ५ वटा योजनाको अनुगमन गरिएको थियो भने ११ लाख ३३ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।

आइतबार वडा नम्बर ४ हुनैनाथमा सञ्चालन भएको शिविरबाट २ सय ८६ जनाले गाउँपालिकाका विभिन्न शाखाहरूबाट प्रदान हुने सेवा लिएका थिए भने, २ सय ९२ पशुपन्छीको लागि औषधी उपचार सेवा, ४ वटा योजनाको अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष धामीले बताउनुभयो । वडा नम्बर ४ मा ४ लाख ६४ हजार ३ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।

गाउँपालिकाको वडा नम्बर ३ मालिकार्जुनमा सञ्चालन भएको शिविरबाट ४ सय ७१ जनाले गाउँपालिकाका विभिन्न शाखाबाट प्रदान हुने सेवाहरू वडाबाटै लिएका थिए । त्यस्तै ४ सय ४७ पशुपन्छीको औषधी उपचार सेवा प्रदान गरिएको र ४ वटा योजनाको अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष धामीले बताउनुभयो । वडा नम्बर ३ मा १५ लाख १९ हजार ३ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।

वडा नम्बर २ भगवतीमा सञ्चालन भएको शिविरबाट ५ सय २५ जनाले गाउँपालिकाका ६ वटै शाखाबाट प्रवाह गरिने सेवाहरू लिएका छन् । ७ सय ५५ पशुपन्छीको औषधी उपचार सेवा प्रदान गरिएको र ४ वटा योजनाहरूको अनुगमन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । वडा नम्बर २ मा एआई जडित एक्सरे मेसिनबाट १ सय जनाको छातीको एक्सरे गरिएको र ५ जनाको क्षयरोग परिक्षण गरिएको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले बताउनुभयो ।

शिविरको अन्तिम दिन वडा नम्बर १ भर्तोलामा सञ्चालन भएको शिविरबाट २ सय ९० जनाले गाउँपालिकाका विभिन्न शाखाबाट प्रदान हुने सेवाहरू लिएका छन् । त्यस्तै ४ सय ९६ पशुपन्छीको औषधी उपचार गरिएको छ । त्यसै ५ वटा योजनाको अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष धामीले बताउनुभयो । ५ लाख १८ हजार ५ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।

गाउँपालिकाले सार्वजनिक गरेको शिविरको विवरणमा मालिकार्जुन गाउँपालिका अन्तर्गतका ६ वटा शाखाहरूले सेवा दिएका हुन् । शिविरमा प्रशासन, योजना तथा अनुगमन शाखा, स्वास्थ्य शाखा, आयुर्वेद शाखा कृषि विकास शाखा, पशुपंक्षी सेवा शाखा, पञ्जीकरण शाखाबाट विभिन्न सेवाहरू उपलब्ध गराएको छ । पालिकाको वडा नम्बर ८ पालिका केन्द्रमै भएकाले उक्त वडाबाट नियमित सेवा उपलब्ध भइरहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button