तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालको ओपिडी सेवा पुनः सञ्चालन, छानबिन समिति विस्तार

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी भएपछि दुई दिनदेखि बन्द रहेको बाह्य सेवा (ओपिडी) पुनः सञ्चालनमा आएको छ।

ओपिडी सेवा खुलेसँगै बिरामीको चाप बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार आगलागीको कारण र क्षति मूल्याङ्कन गर्न गठन गरिएको छानबिन समितिलाई विस्तार गरिएको छ। डा. सुवेदीले समितिमा अस्पतालका कर्मचारीबाहेक जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सरकारी वकिल कार्यालयबाट पनि प्रतिनिधिहरू समावेश गरिएको बताउनुभयो।

“धेरै विषय बाहिर आएका छन्, त्यसैले निष्पक्ष छानबिनका लागि समिति बनाइएको हो,” उहाँले भन्नुभयो।

गत शनिबार अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीबाट करिब चार करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। आगलागीले सबै प्रकारका औषधि, उपकरण, प्रयोगशालाका सामग्री र भ्याक्सिनहरू पूर्णरूपमा नष्ट भएका थिए। प्रारम्भिक रूपमा स्टोरमा रहेको फ्रिजमा विद्युत् सर्ट भई आगलागी भएको भनिए पनि घटनाको छानबिन सुरु भएको छ।

छानबिन समितिका संयोजक डा. डक्ट धितालले छानबिन प्रक्रिया अगाडि बढाइएको र केही दिनमै प्रतिवेदन बुझाइने जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button