तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाबाट दुई विधेयक पारित 

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले भन्सार विधेयक २०८१ र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१ पारित गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले पारित गरियोस् भनि प्रस्तुत गर्नुभएको भन्सार विधेयक २०८१ लाई सभाको बहुमतले पारित गरेको हो ।

विधेयक माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थ मन्त्री पौडेलले भन्सार कार्यालयहरूमा सुशासन कायम गर्ने अनियमितता नियन्त्रण गर्ने र राजस्व छल्न नदिने कुरामा सरकार स्पष्ट रहेको बताउनुभयो । 

अर्थमन्त्री पौडेलले भन्सार कार्यालयहरूमा बेथिति नहोस्, राजस्व चुहावट नहोस्, अनियमितता नहोस् भनेर सकारात्मक सुझाव प्राप्त भएको बताउनुभयो ।

यसैगरी, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसीयाले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१, सभाको पारित गरेको छ ।

विधेयक माथिको छलफलमा उठेको विषयमा जवाफ दिँदै कानुन मन्त्री चौरसीयाले प्रचलित नेपाल ऐन कार्यान्वयनमा देखिएको कठिनाइ तथा समस्या सम्बोधन गर्न र कतिपय ऐनमा रहेका प्राविधिक तथा आनुषांगिक त्रुटिलाई हटाई समय सापेक्ष बनाउन ऐन आएको बताउनुभयो ।

उहाँले कानुनमा रहेका अस्पष्ट विषयहरूलाई स्पष्ट गरी विकास निर्माणका कामहरू सहज रुपमा अगाडी बढाउन ७९ वटा ऐन संशोधन र दुई वटा ऐन खारेज गर्न केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक ल्याएको स्पष्ट पार्नुभयो ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री परिषद्को सिफारिसमा संविधानको धारा ९५ बमोजिम यही बैशाख १९ गते शुक्रवार दिउसो ३ बजे संघीय संसद्को दुवै सभाको संयुक्त बैठकमा सम्बोधन गर्ने र सदनको संयुक्त बैठक आव्हान गर्नुभएको विषयमा जानकारी गराउनुभयो ।

सभामुख घिमिरेले यही बैशाख १९ गते संघीय संसद्को दुवै सभाको संयुक्त बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेकाले प्रतिनिधि सभाका सांसदहरूलाई दिउँसो २ः४५ बजेभित्र  निर्धारित पोसकामा उपस्थित भइसक्न आग्रह गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक बैशाख १९ गते साँझ ५ बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button