तपाईँ सुन्दै हुनुहुन्छः

खुम्बु क्षेत्रमा भारी हिमपात

सोलुखुम्बु । उच्च हिमाली क्षेत्र खुम्बुमा आइतबारदेखि लगातार भारी हिमपात भइरहेको छ । हिमपातका कारण पर्यटक र स्थानीयवासी प्रभावित भएका छन् ।

खुम्बु क्षेत्रमा रहनुभएका ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाका अनुसार हिमपातका कारण पदमार्ग अवरुद्ध हुँदा गोक्यो क्षेत्रमा पर्यटक समस्यामा परेका छन् । उहाँले भन्नुभयो, “हिउँले बाटो पुरिएको छ, कतिपय पर्यटक समस्यामा परेका छन्, तर सङ्ख्या यकिन भइसकेको छैन ।”

स्थानीयवासी साङ्गे शेर्पाले बेमौसमी हिमपातका कारण जनजीवनमा असर परेको बताउनुभयो । यसैबीच सगरमाथा क्षेत्रमा पदयात्रामा गएका एक अमेरिकी पर्यटक सम्पर्कविहीन भएका छन् । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार सम्पर्कविहीन हुनेमा ६३ वर्षीय अमेरिकी नागरिक वाइ मा छन् । “उहाँ गत बुधबार सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोस्टमा ‘इन्ट्री’ हुनुभएको थियो । त्यसपछि सम्पर्कमा आउनुभएको छैन,” उहाँले भन्नुभयो । हिमपातका कारण खोजी गर्न समस्या भएको छ । 

हिमपातका कारण सगरमाथा आरोहण पनि प्रभावित भएको छ । अधिकांश आरोहीहरू आधार शिविरमै रोकिएका छन् । प्रशासन र सम्बन्धित निकायले प्रभावित क्षेत्रका पर्यटक तथा स्थानीयको सुरक्षालाई प्राथमिकतामा राखेर उद्धार र व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button