तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१ पेस गर्नुभएको हो ।

सभाले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप प्रभावकारी र कार्यान्वयनमुखी संरचना बनाउन आवश्यक रहेको बताउनुभयो । 

मन्त्री पाण्डेले नेपाली आकाशलाई गतिशिल सुचारु र सुरक्षित बनाउने दिशामा विधेयक र यसपछि बन्ने संरचनाहरूले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले नागरिक उड्डयन सेवालाई सुरक्षित, नियमित, स्तरीय भरपर्दो र सर्वसुलभ बनाउन विधेयकको उद्देश्य रहेको बताउनुभयो । 

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले विधेयकलाई समयानुसार थप परिमार्जन गरी अन्तराष्ट्रियस्तरमा नेपालको आकाश सुरक्षित छ भन्ने सन्देश दिन सक्ने गरी विधेयकलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालको वायुसेवालाई भरपर्दो, विश्वसनीय र मर्यादित बनाउनेगरी विधेयक संशोधनसहित समृद्ध बनाउन जरुरी रहेको सांसदहरुले औँल्याउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक भोली बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button