तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा आन्तरिक राजस्व सङ्कलन १३ प्रतिशतले बढ्यो 

सुर्खेत । पछिल्लो नौ महिनामा आन्तरिक राजस्व कार्यालय सुर्खेतले १ अर्ब बढी राजस्व सङ्कलन सङ्कलन गरेको छ । 

कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अवधिमा १ अर्ब २२ करोड ४४ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो । यो लक्ष्यको ६७ दशमलव ५५ प्रतिशत सङ्कलन भएको हो । 

कार्यालयका सूचना अधिकारी अमरबहादुर थापाका अनुसार चालु आव २०८१/८२ को नौ महिनाको अवधिमा १ अर्ब ८१ करोड २५ लाख ८७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा १ अर्ब २२ करोड ४४ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको बताउनुभयो । उहाँले चालु आव २०८१/८२ मा २ अर्ब ४९ करोड ८६ लाख १४ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेको जनाउनुभयो । 

पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु, नियमित बजार अनुगमन, करदाता शिक्षा सञ्चालन तथा बाँकी बक्यौता असुलीमा गरिएको कडाइ जस्ता कारणले अघिल्लो आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आवको सो अवधिमा राजस्व सङ्कलनमा १३ दशमलव ८९ प्रतिशतले वृद्धि भएको कर अधिकृत कल्पना सुवेदीले बताउनुभयो । 

आन्तरिक राजस्व कार्यालय सुर्खेतले लामो समयदेखि कर नबुझाउने ११ जना करदातामध्ये पाँच करदाता माथि कारबाही प्रक्रिया अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको आन्तरिक राजस्व कार्यालय सुर्खेतका सूचना अधिकारी थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button