तपाईँ सुन्दै हुनुहुन्छः

विष सेवनबाट तीन बालबालिकाको मृत्युपश्चात् आमाको पनि निधन

जनकपुरधाम । धनुषाको सहिद नगरपालिका–५ यदुकोहामा विष सेवनबाट गत सोमबार तीन बालबालिकाको मृत्युको घटनामा आमाको पनि चार दिनपछि निधन भएको छ । 

विष सेवनबाट गम्भीर हुनुभएकी आमा पवित्रा साहको जनकपुरधामस्थित रामजानकी अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत सोमबार गहुँमा राख्ने विषादी सेवनबाट आमा बिरामी र तीन छोराछोरीको मृत्यु भएको थियो । तीन छोराछोरी छ वर्षीय आदित्य साह, चार वर्षीय आकृति साह र दुई वर्षीया छोरी आरुती साहको घटनास्थलमै मृत्यु भएको थियो । यदुकोहाका सुशील साहका मृतक पवित्रा साह श्रीमती हुन् ।

 विष सेवन गरेकी आमा पवित्रा साहको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर अस्पतालमा उपचार भइरहेको थियो । गर्भवती पवित्राको शल्यक्रिया गरेर शिशु निकालिएको थियो ।

शिशुको अवस्था सामान्य रहेको अस्पतालका सञ्चालक मिथलेश साहले जानकारी दिनुभयो । पारिवारिक विवादका कारण घटना भएको प्रहरीको अनुमान रहेको छ । हाल अटनाको अनुसन्धान भइरहेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button