मधेश प्रिमियर लिग (एमपिएल)को उपाधि मिथिला वारियर्सलाई

सप्तरी । सप्तरीको राजविराजमा सञ्चालित तेस्रो मधेश प्रिमियर लिग (एमपिएल)को उपाधि मिथिला वारियर्सले हात पारेको छ ।
बिहीबार पवि माविको खेल मैदान राजविराजमा भएको फाइनल खेलमा बलान बिहुल सप्तरीलाई ५ विकेटले पराजित गर्दै मिथिला वारियर्सले उपाधि कब्जा गरेको हो ।
जितसँगै मिथिलाले ९ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको बलान बिहुलले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । बलानका कप्तान एवम् राष्ट्रिय टिमका खेलाडी विवेक यादवले २ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ४५ रन बनाए । लोकेश बमले ४१, सुजन थपलियाले २८ र फिर्दोष अन्सारीले १५ रन बनाएका थिए ।
बलिङतर्फ मिथिला वारियर्सका वसन्त खत्रीले ३, शेर मल्ल र कुशल भुर्तेलले समान २/२ र नन्दन यादवले १ विकेट लिए ।

मिथिलाले १८ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै १ सय ५४ रनको लक्ष्य पूरा गर्यो । मिथिलाका लागि कुशल भुर्तेलले सर्वाधिक ५८ रन बनाएपछि टिम जित नजिक पुगेको थियो । रवि साहले ४४ र बसिर अहमदले २५ रन बनाए । बलिङतर्फ विवेक यादव र अरनिको यादवले समान २/२ विकेट लिए ।
फाइनल खेलमा प्लेयर अफ दि म्याच कुशल भुर्तेल घोषित भए । १ लाख ५१ हजारको नगद पुरस्कारसहित जनकपुर सनराइजर्सका विशाल पटेल प्लेयर अफ दी सिरिज भए ।
यसैगरी ,जनकपुरकै आशिष शेख बेस्ट ब्याट्सम्यान भए भने मिथिला वारियर्सका शेर मल्ल बेस्ट बलर भए । दुवै जनालाई नगद ५१/५१ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । यसैगरी उपविजेता सप्तरी बलानबिहुलले ४ लाख १ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताका विजेता(उपविजेता टिमका खेलाडीलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह सहितका अतिथिले नगद पुरस्कारसहित ट्रफी प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्