तपाईँ सुन्दै हुनुहुन्छः

पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा

राँझा (बाँके)। खजुरा गाउँपालिका-२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन मानखोलाको कटानमा पर्दै आएको छ ।

तटबन्ध हुन नसक्दा करिब दुई बिघा खेतीयोग्य जमिन मानखोलाले कटान गरेर क्षति पुर्‍याएको राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका प्रमुख वरिष्ठ पशुविकास अधिकृत डा खिमानन्द खनालले बताउनुभयो ।

“धेरै वर्षदेखि मानखोलाले जमिन कटान गर्दै आएको थियो । पछिल्लो दुईवर्षमा तीव्र कटान हुन थालेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो वर्षमा मात्रै करिब डेढ बिघा खेतीयोग्य जमिन मानखोलाले कटान गरेर बगाएको छ ।”

यो वर्ष तटबन्धन गर्न नसकिए थप दुई बिघा जमिन कटानको जोखिममा रहेको खनालले जानकारी दिनुभयो । दुई वर्षसम्म पनि तटबन्धन गर्न नसकिए मानखोलाले पशु प्रजनन कार्यालय सँगसँगै गुराँसपुर बस्तीमा पस्ने खतरा बढ्दै गएको उहाँले बताउनुभयो ।

कटान रोकथामका लागि पटकपटक मन्त्री, सचिव, महानिर्देशक र सरोकार भएका निकायमा पहल गरे पनि आवश्यक बजेट उपलब्ध हुन नसक्दा समस्या बढ्दै गएको उहाँको गुनासो छ । उहाँका अनुसार यहाँ गरिँदै आइएको जौ घाँस र डाले घाँसको रुख बर्खामा आउने बाढीले कटान गरेर लैजाने गरेको छ ।

कटान रोक्न तटबन्धको व्यवस्था नभए मानखोला खेतीयोग्य जमिनमा पसेर ठूलो धनजनको क्षति पुर्‍याउने कार्यालयका पशुसेवा प्राविधिक देवनारायण जैशीले बताउनुभयो । उहाँका अनुसार जिल्ला सदरमुकाम नेपालगञ्जबाट १५ किलोमिटर पश्चिमतर्फ रहेको खजुरा–२ गौघाटमा करिब ३४ दशमलव चार हेक्टर क्षेत्रफलमा कार्यालय अवस्थित छ । दुई हेक्टरमा वन जङ्गल, दुई हेक्टरमा कार्यालय संरचना र २५ हेक्टर जमिनमा घाँस खेती गरिएको उहाँले जानकारी दिनुभयो ।

यस कार्यालयमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका नौ–नौ वटा र लुम्बिनी प्रदेशका छ जिल्ला गरी कूल चौबिस जिल्लामा कृत्रिम गर्भाधान सेवा सञ्चालनमा सहजीकरण गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button