तपाईँ सुन्दै हुनुहुन्छः

चेपाङ समुदायको उत्थानका लागि ‘चिउरी र चमेरो संरक्षण कार्यक्रम’ दोस्रो चरणमा प्रवेश

मकवानपुर । सीमान्तकृत चेपाङ समुदायको सामाजिक, सांस्कृतिक तथा आर्थिक उत्थानका लागि लक्षित ‘चिउरी र चमेरो संरक्षण कार्यक्रम’को दोस्रो चरण कार्यान्वयनका लागि प्रदेश सरकार र विभिन्न स्थानीय तहहरूबिच समझदारी सम्झौता भएको छ।

सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा मकवानपुर, धादिङ र चितवनका गरी ६ वटा स्थानीय तहसँग सम्झौता गरिएको हो। यो कार्यक्रम ८० प्रतिशत प्रदेश सरकार र २० प्रतिशत स्थानीय तहको साझेदारीमा सञ्चालन हुनेछ।

प्रदेश सरकारले गत वर्ष ५० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा चालु आर्थिक वर्षमा बजेट बढाएर ७५ लाख रुपैयाँ पु¥याएको छ।

सम्झौता कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले उक्त कार्यक्रमलाई सशर्त कार्यक्रमको रुपमा राखेर बजेट विनियोजन गर्न सुझाव दिनुका साथै कार्यान्वयनसँगै प्रभावकारी अनुगमनको आवश्यकता पनि सुल्याउनुभयो।

सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैह्रे चेपाङ समुदायको सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पार्ने विश्वासका साथ कार्यक्रम ल्याइएको उल्लेख गर्दै समुदायको आर्थिक संवृद्धि तथा सांस्कृतिक संरक्षणमा यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रमअन्तर्गत चिउरीको नर्सरी स्थापना, संरक्षण, वृक्षारोपण, चिउरी मह तथा दाना बजारीकरण र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने सामाजिक विकास महाशाखा प्रमुख अमृत अधिकारीले जानकारी दिनुभयो।

हाल उक्त कार्यक्रम मकवानपुरको राक्सिराङ, धादिङको गजुरी र बेनिघाट रोराङ तथा चितवनको राप्ती, कालिका र इच्छाकामना गाउँपालिकामा कार्यान्वयन भइरहेको छ। दीर्घकालीन रूपमा चेपाङ समुदायको दिगो विकासमा कार्यक्रमले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button