तपाईँ सुन्दै हुनुहुन्छः

‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मुक्त कमैया, हलिया, हरवाचरवालगायत भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगको प्रक्रियाबाट गरिने बताउनुभएको छ । 

राष्ट्रिय कृषि बँधुवा मजदुर सङ्घर्ष समितिको टोलीसँग आज सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा भएको छलफलमा उहाँले सरकारले विसं २०७६ मा मुक्त कमैया, हलिया, हरवाचरवालगायत भूमिहीन नागरिकका समस्या समाधान भइसकेको घोषणा गरेकाले अब अन्य उपायबाट बाँकी समस्या समाधान गर्दै जाने बताउँदै यो चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो ।  

मन्त्री अधिकारीले समस्या समाधानका लागि अन्य उपायबारे छलफल गर्न सकिए पनि तत्काललाई आयोगको विधि र प्रक्रियाअनुसार आउन सबैलाई आग्रह गर्नुभयो । “हालसम्म मुक्त घोषणा गरिएका जति पनि समुदाय छन् तिनका अधिकारका लागि सरकार संवेदनशील छ, तर विशेष व्यवस्थासहित समस्या समाधान गर्न सकिने अवस्था छैन । त्यसैले यहाँहरू सबैले आयोगको प्रक्रियाबाट आउनु आवश्यक छ, त्यसमा मन्त्रालयले आवश्यक सहजीकरण गर्छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक सरोकार भएका निकाय र समूहसँग छलफल गरी अन्य कुनै निष्कर्षमा पुग्नेबारे बहस गर्नेछौँ, त्यसका लागि पनि मन्त्रालय तयार छ ।”

सङ्घर्ष समितिका प्रतिनिधिहरूले सरकारले तत्कालीन अवस्थामा आन्दोलनकारीसँग गरेका सहमतिअनुसार समस्या समाधान गरिनुपर्नेमा जोड दिनुभएको थियो । “विभिन्न समयमा भएका आन्दोलनपछि सरकारले मुक्तिको घोषणा गरेको थियो । सरकार आफैँले दुई प्रतिशत मुक्तकमैया र आठ प्रतिशत हलियाको समस्या समाधान हुन बाँकी छ भनेर स्वीकारेको छ । मुक्त हरवाचरवा पुनःस्थापनाको काम सुरु भएको छैन । मुक्त कम्लहरीको समस्या उस्तै छ । त्यसैले यी सबै समस्या नयाँ ढङ्गले समाधान गरिनुपर्छ”, वक्ताहरूको भनाइ थियो । 

सरकारले विसं २०५७ साउन २ गते कमैया, विसं २०६५ भदौ २१ गतेको हलिया, विसं २०७० साउन ३ गते कम्लरी र विसं २०७९ साउन २ गते हरवाचरवा मुक्तिको घोषणा गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button