कमलबजार विमान स्थलमा वैशाख ७ गते पहिलो व्यावसायिक उडान हुदैं

अछाम । कमलबजार विमानस्थलमा वैशाख ७ गते पहिलो व्यावसायिक उडान हुने भएको छ ।
कमलबजार नगरपालिका, मङ्गलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाको संयुक्त पहल र सहयोगमा कमलबजार विमानस्थल सञ्चालन गर्न लागिएको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले बताउनु भयो ।

वैशाख ७ गते आइतबारबाट पहिलो व्यावसायिक उडान सुरु हुँदैछ । यस अघि फाल्गुन २५ गते देखी नियमित उडान हुने भनिएता पनि सो दिन मौसम प्रतिकुल भए पछि पहिलो उडाननै अवरुद्ध भएको थियो । निमार्ण कार्य थालनी भएको ३२ वर्षपछि गत पुस १३ गते तारा एयरको विमानले कमलबजार विमानस्थलमा परीक्षण उडान गरेको थियो । हाललाई हप्तामा एक दिन, आइतबार मात्र उडान हुने सम्झौता भएको नगरप्रमुख ढकालले बताउनु भयो ।

काठमाडौँ–कमलबजार ,कमलबजार –काठमाडौँको लागि रु. ११,००० र नेपालगञ्ज–कमलबजार, कमलबजार–नेपालगञ्जको लागी रु. ६,५०० भाडा दर कायम भएको छ । हवाई यात्रा मार्फत काठमाडौँ–कमलबजार, नेपालगञ्ज–कमलबजार, कमलबजार–काठमाडौँ वा कमलबजार–नेपालगञ्ज जान चाहने इच्छुक महानुभावहरूले Yeti Airlines को वेबसाइटमार्फत टिकट बुक गर्न सकिने बताइएको छ । यात्रुको सहजताका लागी निकट भविष्यमा ई-सेवा र खल्ती एप मार्फत समेत टिकट काट्ने व्यवस्था मिलाइने गरि तयारी भइरहेको नगर प्रमुख ढकालले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्