तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’

काठमाडौँ । साहित्यकारहरूले नेपाली भाषा र साहित्य क्षेत्रको विकासमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको २९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा डा वासुदेव त्रिपाठीले भन्नुभयो, “मस्र्याङ्दी वाङ्मय प्रतिष्ठान लमजुङ र गण्डक क्षेत्रमा मात्र सीमित नभई देश र अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित हुँदै गएको छ, राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई जीवन्त राख्न यस प्रतिष्ठानको भूमिका सराहनीय छ ।”

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका पूर्व राजदूत एवं साहित्यकार प्राडा जयराज आचार्यले मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले नेपाली साहित्य, सङ्गीत र कलाको विकासमा गरेको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

प्रतिष्ठानका प्रमुख संरक्षक सोमकान्त शर्मा अधिकारीले प्रतिष्ठानले लमजुङ भित्रका स्रष्टालाई अझै समेट्न नसकेको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई जीवन्त राख्न प्रतिष्ठानको पहलमा लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित बाहुन डाँडामा राष्ट्रकवि माधवप्रसाद घिमिरे पार्क निर्माण गरिएको जानकारी दिनुभयो ।

प्रतिष्ठानका उपाध्यक्ष भाग्यशाली अधिकारीले लमजुङ क्षेत्रका साहित्यकार, गीतकारको अथक प्रयासले संस्था अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो । स्थापना दिवसका अवसरमा आज प्रतिष्ठानले साहित्यकारहरू मुक्तिनाथ शर्मा न्यौपाने, ध्रुवप्रसाद घिमिरे, कृष्णमुरारी शर्मा अधिकारी, तोयनाथ भट्ट, डा खेमराज आचार्य, रमेशचन्द्र अधिकारी र यामबहादुर दुरालाई दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने प्रतिष्ठानको मुखपत्र ‘मस्र्याङ्दी प्रवाह’ को तेस्रो अङ्क लोकार्पण गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button