९ महिनामा ९३ वटा आगलागीका घटना

चितवन । चालु आर्थिक बर्ष ०८१/८२मा भरतपुरमा ९३ वटा आगलागीका घटना भएका छन् । चालु आवको साउन महिनादेखि हालसम्म उक्त घटना भएको महानगरपालिकाले जनाएको छ । सबै आगलागी घटना नियन्त्रणमा आएका थिए ।
जस अनुसार महानगरबाट ६७ वटा र वडा नं २० चनौलीमा रहेको वारुणयन्त्रको सहायताबाट २६ वटा आगलागीका घटनाहरूलाई नियन्त्रणमा लिएर काम गरिसकेको छ । महानगरले अहिले तिन वटा दमकल परिचालन गरिरहेको छ ।
विपद् व्यवस्थापन शाखा प्रमुख बालकृष्ण थपलियाले गर्मीयामको समयमा हुन सक्ने आगलागीमा उद्धार, राहत तथा व्यवस्थापन कार्य सम्बन्धि सचेतनाका लागि कृत्रिम घटनाका अभ्यासहरू मार्फत आमनागरिकलाई सचेत बनाइएको बताउनु भयो । अधिकृत थपलियाका अनुसार अभ्यासमा आगलागीको अवस्थामा घरहरूबाट घाइतेहरूको उद्धार गर्ने अभ्यास, अग्नि नियन्त्रणद्वारा आगलागी नियन्त्रण अभ्यास, ग्यास सिलिन्डरबाट हुने आगलागी तथा जोखिम नियन्त्रणको डेमोस्ट्रेशन तथा हुन सक्ने क्षति र त्यसको त्रासबाट मुक्त गराउनको लागि सुरक्षात्मक उपायहरू अपनाउने तरिकाको नमुना अभ्यास गरिएको छ ।
भूकम्प, बाढी पहिरो, आगलागी जस्ता विपदमा सीमित स्रोत साधनाका बाबजुद पनि पीडितको उद्धार, राहत तथा अस्थायी आवास निर्माण कार्यमा भूमिका निभाउँदै आएको र आगामी दिनमा पनि विपद पीडितहरूको उद्धार विपद जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा महानगर रहेको थपलियाको भनाइ छ ।
उहाँले आगलागीजन्य घटना तथा विभिन्न स्थानमा सिलिन्डर ग्यासमा आगलागी हुने घटना भइरहेकाले यसबाट सुरक्षित रहने उपायहरूको बारेमा सबै जना सचेत हुन आवश्यक रहेको पनि बताउनु भयो ।
महानगरका वारुणयन्त्र अधिकृत देवेन्द्र राज रेग्मीले साना ठूला सबै आगलागीका घटनाहरूमा महानगर सँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो नियन्त्रणमा ल्याउने गरिएको बताउनु भयो । ‘कहीँ कतै आगलागी हुने बित्तिकै वारुणयन्त्र शाखाको हटलाइन नम्बरमा फोन आउँछ अधिकृत रेग्मीले भन्नुभयो,अनि महानगरका सबै साधन स्रोत र जनशक्ति हामीले परिचालन गर्छौ । ’
गर्मी मौसमको कारण हुन सक्ने आगलागीको घटनालाई मध्यनजर गरी विपद् पूर्व तयारी अनुरुप सरोकारवाला निकायहरूको समन्वयमा महानगरपालिकाले काम गर्दै आइरहेको छ ।
नेपालमा आगलागीमा परेर बर्षेनी सयौँको सङ्ख्यामा मानिसहरूको ज्यान जाने गरेको र झन्डै दुई अर्ब रुपैयाँ भन्दा धेरैको भौतिक क्षति हुने गरेको गृह मन्त्रालयको तथ्याकंमा उल्लेख छ । बर्षेनी डढेलोको कारण हजारौँ हेक्टर बन क्षेत्र विनाश समेत हुने गरेको मन्त्रालयको तथ्याकंले देखाउँछ ।
नेपाल आगलागी जोखिमको हिसाबले उच्च जोखिममा छ । विश्वव्यापी जलवायु जोखिम सूचकाङ्क अनुसार नेपाल आगलागी जोखिमको हिसाबले विश्वको तेस्रो, भूकम्पीय जोखिमको हिसाबले ११ औँ र बाढि पहिरोको हिसाबले ३० औँ स्थानमा छ ।
प्रतिक्रिया राख्नुहोस्