तपाईँ सुन्दै हुनुहुन्छः

नगरकोट भ्रमण बर्ष २०८२ : ११ लाख पर्यटक भित्र्याउने लक्ष्य 

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकासहित काठमाडौँ र काभ्रेपलाञ्चोकका विभिन्न चार नगरपालिकाको संयुक्त आयोजनामा आयोजना हुने ‘नगरकोट भ्रमण वर्ष २०८२’मा ११ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ  । 

नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा आज नगरकोटमा आयोजित पत्रकार सम्मेलनमा एक लाख आन्तरिक र १० लाख बाह्य गरी ११ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको जानकारी दिइयो ।

नयाँ वर्ष २०८२ को शुभारम्भसँगै राष्ट्रपति रामचन्द्र पौडेलबाट वैशाख १ गते नगरकोटको बतासे डाँडामा भ्रमण वर्षको उद्घाटन गरिने आयोजकले जनाएको छ ।

भ्रमण वर्ष मुल आयोजक समितिका संयोजक तथा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले भ्रमण वर्षको चार वटै नगरपालिकाले एकसाथ तयारी गरेको र प्रचारप्रसार गर्ने काम भइरहेको बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले प्रत्येक नगरबासीलाई घर–घरबाट जागृत गराई भ्रमण वर्ष सफल बनाउन संयुक्त आयोजक समिति लागेको बताउनुभयो ।

काठमाडौँको शंखरापुर नगरपालिका, काभ्रेपलाचोककोे मण्डनदेउपुर नगरपालिका र बनेपा नगरपालिकाको समेतको संयुक्त आयोजनामा हुने भ्रमण बर्षभित्रै नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने समेत लक्ष्य आयोजकको छ ।

भ्रमण वर्षलाई लक्षित गरेर गाउँमा नमुना होमस्टे समेत बनाइएको बताउँदै नगरकोट आउने पर्यटकलाई दोलालघाटसम्म पुर्‍याउने लक्ष्य महोत्सवमार्फत लिएको मण्डनदेउपुर नगरपालिकाका प्रमुख वाइबाले बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख खत्रीले नगरपालिकाको पहिलो बैठकबाट नै भ्रमण वर्ष मनाउने घोषणा गरेको तथा सबैको सहकार्यसहित भ्रमण वर्ष मनाउन लागिएको जानकारी दिनुभयो । भ्रमण वर्ष अवसर र चुनौती दुवै भएको भन्दै नगरपालिका मात्रको एक्लो प्रयासले सफल नहुने भएकाले सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।

बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले भ्रमण वर्षमा आउने पर्यटकले पहिलेको नगरकोट र अहिलेको नगरकोटको फरक अनुभूति गर्न पाउने बताउनुभयो । 

मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणी नेपालले नगरकोटसँग चार नगरपालिकाको सम्बन्ध स्थापित गर्न समग्र नगरपालिकाको डीपीआर बनाउने काम भइरहेको जानकारी दिनुभयो ।

चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले  भ्रमण वर्षमार्फत स्थानीय प्राकृतिक तथा धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने र विभिन्न जातजाति, भेषभुषा, जात्रा, पर्व र साँस्कृतिक पहिचानहरूको भ्रमण वर्षमार्फत उजागर गरिने बताउनुभयो ।

भ्रमण वर्षको शुभारम्भका दिन बतासे डाँडामा ५० भन्दा बढी स्टलहरू रहनेछन् । यस्तै फुड स्टल तथा कृषि सामग्रीका स्टल, गुरुङ समुदायको संग्राहलय तथा प्रत्येक पालिकाका छुट्टाछुट्टै झाँकी भ्रमण वर्षको कार्यक्रममा प्रस्तुत गरिने छ ।

नगरकोट भ्रमण वर्षलाई नै लक्षित गरेर नगरकोटदेखि काठमाडौँसम्म सिधा बस सेवा सुरु भइसकेको छ । भ्रमण वर्षको अवधिभर पर्यटकलाई चार वटा नगरपालिका भित्रका विभिन्न महत्त्वपूर्ण मठमन्दिरलगायत अन्य विविध धार्मिक, पौराणिक, आध्यात्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रहरूको भ्रमण गराइने भएको छ ।

नगरकोटलाई पर्यावरणीय मनोरम दृश्यावलोकन, हिमाली दृश्यहरू, सूर्योदय र सुर्यास्तको मनोरम दृश्यावलोकनका लागि काठमाडौँ उपत्यकाकै मुख्य पर्यटकीय गन्तव्यका रूपमा लिइने गरिन्छ । नगरकोट काठमाडौँ उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिएको ठाउँ हो, तर पछिल्लो समय सडकसहितका कारणले ओझेल पर्दै गएको देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button