प्रसिद्ध कमलहदको पानी वर्षेनी घट्दै, स्थानीय चिन्तित

रुकुम पूर्व । रुकुम पूर्वको प्रसिद्ध कमलहदको पानी वर्षेनी घट्दै जान थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । दहको जलस्तर वर्षेनी घट्दै जाँदा पर्यटकीय गतिविधिमा सँगै दहको सौन्दर्यमा प्रत्यक्ष असर पर्न थालेको हो छ ।
प्राकृतिक रूपमा निर्मित यो ताल वर्षौंदेखि रुकुम पूर्वको आकर्षणको केन्द्र विन्दु रहँदै आएको छ । तर, पछिल्ला केही वर्षयता लगातार घट्दै गएको पानीको मात्रा र बढ्दो सुख्खापनले तालको अस्तित्व नै सङ्कटमा परेको छ ।
स्थानीय बासिन्दाका अनुसार, तालको पानी घट्नुको मुख्य कारण अनियमित मौसम परिवर्तन, अव्यवस्थित सिमेन्टेट भौतिक संरचना निर्माण, तथा जलवायु परिवर्तन जस्ता कुराहरू यसको मुख्य कारण हुन । कम वर्षा हुनुका साथै दह आसपासका भू–भागहरूमा अव्यवस्थित रूपले भौतिक सिमेन्टेड संरचना निर्माण तथा भौतिक रुपमा मानवीय गतिविधि बढ्दा पनि पानीको स्रोतहरूमा असर पुगेको देखिन्छ ।
दह पहिलेको जस्तो हरियाली र चिसोपना अहिले नभएको स्थानीय ओम प्रकाश थापाले बताउनुभयो। थापाले दहको पानी घट्दै जाँदा ताल खुम्चिँदै गएको बताउनुभयो । उहाँले स्थानीय सरकारले टेन्डर प्रक्रियामार्फत दहको संरक्षणको जिम्मा सर्तसहित अरू कसैलाई दिने व्यवस्था गरे त्यसले सार्थकता पाउने बताउनुभयो ।उहाँले भन्नुभयो “टेन्डर प्रक्रियामार्फत दह संरक्षणको जिम्मा स्थानीय सरकारले अरू कसैलाई दिए उसले सम्पुर्ण दह संरक्षणको कुरामा व्यवस्थापन गर्छ । उसले पालिकालाई वार्षिक एकमुष्ट रकम बुझाउँछ । दह भित्र कसैलाई पनि लापरबाही गर्न दिँदैन बनेका संरचना भत्काउने तथा बिगार्ने काम गरे ठाउँको ठाउँ कारबाही गर्छ । उसले कसरी हुन्छ दहलाई आकर्षक बनाउन लागि पर्छ । सेक्रेटरी (दह हेराला) राख्छ । पानीको स्रोत खोज्छ । यसमा सबैले सोच्नुपर्छ ।”
दह संरक्षणमा समयमा नै उचित पहल नगरिए, यो प्राकृतिक सम्पदाले आफ्नो मौलिक स्वरूप गुमाउने खतरा रहेको समाजसेवी तथा स्थानीय तारक बहादुर शाहले बताउनुभयो । उहाँले सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक सोचका साथ दह संरक्षणमा जुट्न जरुरी रहेको बताउनुभयो ।
यस समस्यालाई लिएर स्थानीय निकाय तथा वातावरण संरक्षणकर्मीहरूले विभिन्न समयमा चासो देखाए पनि ठोस् योजना बनाएर दह संरक्षणमा लागेको देखिँदैन । स्थानीय सरकारले यो आफ्नो दायराभित्र पर्ने हुँदा स्थानीयहरूको सल्लाहअनुसार आफ्नै योजनाका साथ काम गर्ने बताउँदै आएको छ भने दह संरक्षण समितिले भने स्थानीयहरूको क्षेत्राधिकारसँगै पुर्ख्यौली युगदेखि स्थानीयले दहको संरक्षण गर्दै आएकाले यसको विकाससँगै संरक्षणको जिम्मा आफूहरूको रहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्