तपाईँ सुन्दै हुनुहुन्छः

एक अर्बमा नेपालगन्जमा होटेल पौवा बन्दै, देशभर पाँच दिन ‘स्वाद उत्सव’

नेपालगञ्ज । होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा घोषणा गरेको स्वाद उत्सवको तयारी पूरा भएको जनाएको छ । पौवा व्यवस्थापनले नेपालगञ्जमा आज पत्रकार भेटघाट गर्दै यही चैत्र २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वाद उत्सवको तयारी पूरा भएको जनाएको हो ।

स्वाद उत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुने पत्रकार भेटघाटमा जानकारी दिइएको थियो । नवौं वार्षिकोत्सवको अवसरमा देशभरका शाखाहरूमा विभिन्न कार्यक्रमसहित पौवाले स्वाद उत्सव मनाउन लागेको हो । होटल पौवाका अनुसार उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ । उच्च आतिथ्यता प्रदान गर्दै मौलिक स्वादको अनुभव पाहुनाहरूसमक्ष पु¥याउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको पौवा व्यवस्थापनले जनाएको छ ।

यसैगरी स्वाद उत्सवको उद्देश्य पौवाका सेफहरूबीच नै स्वस्थ प्रतिस्पर्धा गराई बढी भन्दा बढी गुणस्तरीय खाना तयार पार्नु पनि रहेको होटल सञ्चालकहरूको भनाई छ । स्वाद उत्सवमा पाहुनाहरूले दिने प्रतिक्रियाले सेफहरूको अनुभवमा निख्खारता आई क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने पौकाका सिओओ कृष्ण गौतमले बताउनुभयो ।

नवौं वार्षिकोत्सवको अवसरमा आयोजित स्वाद उत्सव देशभरका शाखाहरूमा एकैसाथ सञ्चालन हुने गौतमले बताउनुभयो । उत्सवमा भाग लिनका लागि सबै शाखाबाट दुई लाख स्थानीय तथा बाह्य पाहुनाहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणा पत्र दिइएको उहाँले जानकारी दिनुभयो । ती सबै अतिथि पाहुनाहरूलाई पौवामा आएर खानाको निःशुल्क स्वाद लिन पाउने गरी व्यवस्था मिलाइएको गौतमले बताउनुभयो ।

होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले पौवाले नेपालगञ्जमा मात्र १ अर्बको हाराहारीमा लगानी गर्ने योजना बनाएको जानकारी दिनुभयो । पौवाको विस्तारमा अहिलेसम्म विभिन्न बैङ्कहरूको ८५ करोड लगानी भएको जानकारी दिँदै अध्यक्ष भण्डारीले लगानीकर्ताहरूले झण्डै ४० करोड लगानी गरेको बताउनुभयो । ‘जसरी विगतमा बाटोमा हिँड्ने बटुवाले आश्रय लिने स्थानलाई पाटी पौवा भन्ने गरिन्थ्यो, आकाशबाट झरी पर्दा होस् वा आँधी तुफान आउँदा पाटी पौवा बटुवाहरूका लागि ओत बस्ने सहारा बन्ने गर्दथ्यो । त्यसैगरी होटल पौवा देश विदेशका अतिथि पाहुनाहरूको ओत बनेको छ । पाहुनाहरूले दिएको विश्वास र समर्थनकै कारण पौवा ‘मिसन १००’ को लक्ष्य पच्छ्याउँदै देशभर विस्तारित भइरहेको छ,’ उहाँले भन्नुभयो ।

नेपालगञ्जमा पाँच तारे होटल ‘पौवा वेष्टर्न’को पहिलो चरणको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जमा मुख्य आवास भवन निर्माण भइरहेको छ । अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेन्ट सुरु भइसकेको छ । नेपालगञ्जको होटलमा नेपाली हस्पिटालिटीभित्र अन्तर्राष्ट्रिय सुविधा रहने उहाँले बताउनुभयो । होटल पौवा नेपालगञ्जका प्रबन्धक गिरिराज पाण्डेले नेपालगञ्ज शाखामा फरक फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठूलो सभा हलसहित १४ वटा मिटिङ हल, ७ वटा स्वीट रुमसहित ९६ वटा डिलक्स रुम उपलब्ध हुने जानकारी दिनुभयो । नेपालगञ्जमा पहिलो होटलका रुपमा ९ तला सहितको एउटै छानामुनी क्यासिनो, स्पा, स्विमिङ, जिम सुविधा रहने उहाँले दाबी गर्नुभयो ।

स्थापनाको ९ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको छ भने छिमेकी कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदूरपश्चिम प्रदेशको धनगढी तथा बाग्मती प्रदेशको काठमाडौँ र सौराहामा पौवाको सेवा उपलब्ध छ । लुम्बिनी प्रदेशको रुपन्देहीको भैरहवाको चिल्ड्रेन पार्क र बुटवलको योगीकुटी, दाङको भालुवाङ, लमही र घोराही, कपिलवस्तुको गोरुसिङ्गेमा पौवाले समान र नेपालीपन सहितको सेवा दिइरहेको छ । त्यसैगरी पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा पनि अन्तर्राष्ट्रिय स्तरको रिसोर्टसहित होटल सञ्चालनमा रहेको छ । त्यसैगरी सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पनि पौवाको सेवा सञ्चालन भइसकेको छ । १ वर्षभित्र पाल्पाको झिँगामारामा पौवा बनवास रिसोर्ट सञ्चालनमा आउने पौवा व्यवस्थापनले जनाएको छ ।

कोशी प्रदेशमा होटल सञ्चालनको अध्ययन गरिरहेको तथा मधेश प्रदेशको जनकपुरमा सम्भाव्यतासहित होटल सञ्चालनको प्रारम्भिक तयारी गरिएको छ । यस्तै, गण्डकी प्रदेशमा पनि थप होटल सञ्चालनको अध्ययन थालिएको छ । सिन्धुली सदरमुकाममा नयाँ शाखा स्थापना हुन गइरहेको छ । अबको केही समयभित्रै पाल्पाको झिंगामारामा पौवा बनवास रिसोर्ट समेत स्थापना हुँदैछ । स्थापनकालदेखि नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखाहरूमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरू हुँदै आएका छन् ।

अन्तर्राष्ट्रिय जगतमा समेत ख्याति कमाएको नेपाली सत्कारलाई ब्राण्डिङ गर्दै हरेक शाखाहरूमा नेपाली पहिचान दिने सेवालाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको होटल पौवाका अध्यक्ष भण्डारीले बताउनुभयो । ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचानलाई पौवाले लक्ष्य बनाएको छ । सबै धर्म, संस्कृति मान्ने नेपालीका विभिन्न चाडपर्वलाई पौवाले विशेष बनाउँदै आएको छ,’ भण्डारीले भन्नुभयो ।

‘देशलाई चिनाउने क्षेत्र पर्यटन क्षेत्र नै हो । हाम्रो डाँडापाखालाई सदुपयोग गर्ने हो भने रोजगारीको लागि विदेश पलायनलाई समेत कम गर्न सकिन्छ,’ अध्यक्ष भण्डारीले भन्नुभयो, ‘पौवाको प्रमुख लक्ष्य देशभित्रै रोजगारी सिर्जना गर्ने हो । पौवाले स्थानीय उत्पादनको समेत खपत गर्दै आएको छ, जसले पौवा पुगेको स्थानमा आम्दानीको स्रोत समेत विस्तार भएको छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button