प्रधानमन्त्री कप क्रिकेट : एपिएफद्वारा कोशी प्रदेश २ विकेटले पराजित

रुपन्देही । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो फाइनल खेल खेल्ने सम्भावना कायमै राखेको छ ।
एपीएफले बुधबार रुपन्देही जिल्लाको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा अंक तालिकाको पुछारमा रहेको कोशी प्रदेशलाई २ विकेटले पराजित गर्दै फाइनल सम्भावना जीवित राखेको हो ।
एपीएफको जितमा लोकेश बमले उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट ८४ रन जोडेपछि एपीएफले कोशीले दिएको २ सय ५५ रनको लक्ष्य ४४.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । लोकेशले दबाबपूर्ण अवस्थामा ५४ बल खेलेर ६ चौका र ६ छक्का प्रहार गरे । लोकेशलाई साथ दिएका इर्शाद अहमदले नटआउट १६ रन जोडे ।
यस्तै, कप्तान रोहितकुमार पौडेलले ६१ र र दीपक बोहराले ३६ रन बनाए । बलिङमा कोशीका फिर्दोस अन्सारी र दिपेश कँडेलले समान ३–३ तथा ज्ञानेन्द्र श्रेष्ठ र भुपाल लुइँटेलले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले शकिब हकको ६८, आइस भट्टराईको ३४, सुजन थपलियाको ३३ र कप्तान अंकित सुवेदीको ३५ रनको मद्दतमा २५४ रन जोडेको थियो । बलिङमा एपीएफका अभिषेक गौतम र मौसम ढकालले ३–३ तथा रोहितकुमार पौडेलले २ विकेट लिए ।
लोकेश प्लेयर अफ द म्याच भए । अंक तालिकाको तेस्रो स्थानमा रहेको एपीएफले लिग चरणका सबै खेल खेल्दा १४ अंक जोडेको छ । एक खेल बाँकी रहेको त्रिभुवन आर्मी क्लबको पनि १४ अंक छ । रनरेटमा आर्मी अघि छ ।
अन्तिम खेलअघि १६ अंक जोडेको शीर्ष स्थानको नेपाल पुलिस क्लब भने फाइनलमा पुगिसकेको छ ।
अब पुलिस र आर्मीबीच बिहीबार एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा हुने लिगको अन्तिम खेलपछि फाइनलमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । आर्मी फराकिलो अन्तरले पराजित भएमा एपीएफको फाइनल सम्भावना हुनेछ ।
यद्यपि आर्मी झिनो अन्तरले हारे पनि फाइनलमा पुग्ने सम्भावना छ । कोशी भने प्रधानमन्त्री कपमा ९ खेल खेल्दा केवल १ खेलमा मात्र जित निकाल्न सफल भयो भने अंक तालिकाको पुछारमा छ ।
प्रतिक्रिया राख्नुहोस्