तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरमा रेडियो नेपालद्वारा ‘मदरसा शिक्षा र महत्व’ विषयमा स्थलगत बहस 

बाँके । रेडियो नेपालले आज मङ्गलवार नरैनापुरमा मदरसा शिक्षा र महत्व विषयमा स्थलगत रेडियो बहस कार्यक्रमको गरेको छ । 

रेडियो नेपालका उप–निर्देशक गोकर्ण रेग्मी र वरिष्ठ कार्यक्रम अधिकृत हरि गिरीले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागीहरूले मदरसा शिक्षा राष्ट्रिय शिक्षाको मूल प्रवाहमा आउन नसकेको प्रति चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सरकारले अहिले मदरसालाई राहत शिक्षक, छात्रवृत्ति र पाठ्यक्रम खरिदका लागि राहत अनुदान उपलब्ध गराउँदै आएको तर, विद्यार्थीको पठनपाठन व्यवस्थित र वैज्ञानिक हुन नसकेको बताउनुभयो । उहाँले यहाँका अधिकांश मदरसामा पर्याप्त भौतिक पूर्वाधार निर्माण नभएकाले एउटै कक्षा कोठामा फरक फरक कक्षा तहका विद्यार्थीलाई सँगै राखेर पढाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो । अध्यक्ष शाहले पालिकाले मदरसा शिक्षाका लागि पालिकाबाट बजेट बिनियोजन गरेर काम गरिरहेको दाबी पनि गर्नुभयो । 

सरकारले मुस्लिम समुदायका बालबालिकालाई राष्ट्रिय शिक्षाको मूल प्रवाहीकरणमा ल्याउने नीति लिएको छ । सो नीतिबमोजिम नै धार्मिक तथा शैक्षिक संस्थाको रूपमा मदरसा खोल्न सरकारले अनुमति दिँदै आएको छ । तर, मापदण्ड पूरा नगरेर खोलिएका मदरसालाई खारेज गर्ने, कारबाही प्रक्रियामा ल्याउन नसक्दा यसको मूल प्रवाहीकरण चुनौतीपूर्ण बन्दै गएको अफसर अलि मुकेरीले बताउनुभयो । 

अधिकारकर्मी साहिल अन्सारीले भन्नुभयो– ‘परम्परागत सञ्चालनमा रहेको मदरसा शिक्षालाई मूल प्रवाहीकरण वा सामुदायिकीकरण गर्नु राम्रो हो । तर, सरकारले मुस्लिम समुदायको धार्मिक आस्था, मूल्य, मान्यताका आधारमा थप व्यवस्थापनको काम गर्नुपर्छ, अन्यथा यसले थप जटिलता निम्त्याउन सक्छ ।’

सरकारले मदरसा शिक्षालाई राष्ट्रिय शिक्षाको मूल प्रवाहीकरणमा आउन तोकिएको प्रक्रिया पुर्‍याएर परम्परागत रूपमा सञ्चालनमा रहेका मदरसा दर्ताको व्यवस्था मिलाएको छ । तर, यसको व्यवस्थापकीय पक्ष कमजोर भएको साहिल अन्सारीको भनाई थियो  ।

मदरसाको आफ्नो आयस्रोत खासै छैन । विपत शाखा प्रमुख भरत महतोले विद्यार्थीबाट उठाएको शुल्कले दिगो रूपमा मदरसालाई धान्न ग्राहो रहेको धारणा राख्नुभएको थियो । 

कार्यक्रमको सहजीकरण रेडियो नेपालका बाँके संवाददाता आलम खानले संयोजन गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button